आज उपत्यकामा कस्ता कस्ता बिरोधका कार्यक्रम हुँदै ?

आज उपत्यकामा कस्ता कस्ता बिरोधका कार्यक्रम हुँदै ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संघले चार सूत्रीय माग पूरा गराउन सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्ले र उपाध्यक्ष खगेन्द्र अधिकारीको कार्यकक्ष बाहिर कालोपट्टी बाँधेर आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चा नेपालले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्न तथा संघीयता र भ्रष्टचारको बिरुद्ध मंसिर २६ गतेदेखि पुस १० गतेसम्म अधिकांश जिल्ला, पालिका र वडास्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण र बिरोध प्रदर्शन कार्यक्रमहरू सञ्चालन गर्ने बताएको छ । सो क्रममा आज समय उल्लेख नगरिए पनि काठमाडौं उपत्यकामा समेत उक्त कार्यक्रम गर्ने बताइएको छ । यता, राजतन्त्र पुनस्र्थापनाको माग राख्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रवादी नागरिक समाजले पनि आजै मध्यान्ह १२ बजे रत्नपार्कमा नागरिक सभा गर्न लागेको छ ।

बिरोध कार्यक्रम अन्तर्गत जनतान्त्रिक तराई मुक्ति मोर्चा एवम् राष्ट्र बचाउ अभियान, राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक आन्दोलन– २०७७ ले मुलुकमा देखिएको सबैखालका लुट, अराजकता, आतङक, बेथिति रोक्न र वाह्य अतिक्रमणबाट देशलाई जोगाउन मंसिर १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । उसले सो क्रममा राष्ट्रिय स्वाधिनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, इतिहास, धर्म, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्घन गर्न ‘राज–संस्थासहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न वैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली’ वहालीका लागि आज पनि काठमाडौंमा कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

आंशिक प्राध्यापक संघ, पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रीय निर्देशनअनुसार भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा मंसिर १२ गतेदेखि गर्दै आएको तालाबन्दीलाई आज पनि जारी राख्ने बताएको छ ।

अन्यत्र बिरोधका कार्यक्रमहरू भइरहँदा संघीय संसद सचिवालाय, सिंहदरबारमा भने बिहान पौने १२ बजे विधायन समितिको बैठक बोलाइएको छ  ।

टिप्पणीहरू