यी विमारले सराप्दैनन् सरकारलाई ?

चितवन, भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि दूरदेखि धाउनु छ, यहाँ आएर पनि अनेक दुःख पाउनुपर्दा कति सास्ती होला ?

स्तनको भिडियो एक्सरे रिपोर्ट चार दिन भइसक्दा पनि पाउन नसकेको केही दिनअघि एक बिरामीका आफन्तले बताए । रिपोर्ट पाउन यत्तिका दिन लाग्दा निकै मर्का परेको वीरगञ्ज, पर्साबाट श्रीमतीको उपचारमा आएका लालबहादुर गौरले बताए । ‘छिटो गरिदिनुस् न !’ भन्दा कर्मचारीले रुखो व्यवहार गर्दै ‘बाहिर प्राइभेटमा जानू’ भन्ने गरेको बिरामीका आफन्त बताउँछन् । रेडियोडायग्नोसिस, इमेजिङ तथा न्यूक्लियर मेडिसिन भवनमा यस्तै सास्ती अरुले पनि भोग्नुपरेको बताएका छन् ।

रगतको अभाव तथा असहजताले पनि बिरामीलाई निकै गाह्रो भइरहेको बुझिन्छ । बी पोजिटिभ रगत पाउन तीन दिन लागेको, त्यैपनि अस्पताल बाहिरबाट किन्नुपरेको कैलाली, टीकापुरबाट श्रीमतीकै उपचारका लागि आएका सन्तकुमार थारुले बताए । यसैगरी सिटी स्क्यानमा पनि समस्या भएको बुझियो । भैरहवा, रुपन्देहीबाट आएका एक बिरामीका आफन्तले अन्य विभिन्न परीक्षण सहित सिटी स्क्यानका लागि रकम बुझाए । पछि सिटी स्क्यान मेसिन बिग्रियो भनेर अस्पतालले बाहिर गएर गर्न भन्यो । क्यान्सर अस्पतालमा ४५ सयमा हुने पेटको सिटी स्क्यान प्राइभेटमा १० हजार रुपैयाँ तिरेर गराउनुपरेको ती बिरामीका आफन्तले बताए । क्यान्सर अस्पतालमा सिटी स्क्यानका लागि बुझाएको रकम फिर्ता पाउन दुई दिनदेखि धाइरहेको अघिल्लो बिहीबार उनले बताए । ‘कर्मचारीहरूले कहिले डाक्टरको प्रमाणित कागजात त, कहिले कारण लेखाएर ल्याउनू भन्दै झुलाइरहेका छन्’, उनी भन्दै थिए, ‘पैसा फिर्ता पाएको भए हिजै घर गइन्थ्यो ।’ यहाँ परपरदेखि उपचारका लागि धाएर आउनेहरूलाई अस्पतालको गेटबाहिर रहेका होटल–लजहरूमा पैसा तिरेर खानु–बस्नुपर्ने अवस्था छ । भारत पश्चिम चम्पारणबाट आएका रमेशप्रसाद कुसवाहाले भने, ‘रुम र खानामा बहुत खर्च हुन्छ ।’

क्यान्सर अस्पतालमा उपचारको लागि आउनेहरूलाई सबैभन्दा पहिले पीसीआर टेस्ट अनिवार्य गरिएको छ । अझ अलि पहिले त कुरुवाले पनि पीसीआर गर्नैपर्ने नियम थियो । पछिल्लो समय बिरामीले मात्र गरे हुन्छ तर हप्ता–दश दिन बाहिर बसेर आएपछि केही भए पनि, नभए पनि फेरि पैसा तिरेर कोरोना परीक्षण गर्न लगाइन्छ । यो अस्पतालको आफ्नै पीसीआर प्रयोगशाला छ । अहिले दैनिक दुई सय ५० भन्दा बढी पीसीआर परीक्षण भइरहेको अस्पतालले जनाएको छ । सबै बिरामीलाई अनिवार्य भन्दा पनि लामो समय वार्ड भर्ना हुने, अप्रेसन गर्नुपर्ने, नाक, कान, घाँटीको उपचार गर्ने जस्ता संवेदनशीलता हेरेर पीसीआर परीक्षण अत्यावश्यक गरिएको अस्पतालका सूचना अधिकारी वरिष्ठ प्रशासक गृहीनारायण महतो बताउँछन् । भन्छन्, ‘कोरोनाको यस्तो जोखिम छ, परीक्षण नगरी कसले उपचार गर्न सक्छ ?’

एक सय ६०–७० जति त अस्पतालकै डाक्टर, कर्मचारी कोरोना संक्रमित भइसकेको केही दिनअघि उनी बताउँदै थिए । कोभिडका कारण स्टाफको कमी भएपनि सेवा प्रवाह नरोकिएको उनको भनाइ थियो । रेडियोलोजीतिरकै तीनजना डाक्टरलाई कोरोना संक्रमण भएपछि बाहिरबाट डाक्टर ल्याएर समेत सेवा दिइएको उनले बताए । चाइनाले अनुदानमा दिएको सिटी स्क्यान मेसिन बिग्रे पनि पुरानो मेसिनबाट सिटी स्क्यान भइरहेको अस्पतालको भनाइ थियो । बिग्रेको मेसिनलाई चीनबाटै मेकानिकहरू बोलाएर मर्मत गर्न लागिएको छ ।

– अजय गोर्खाली

टिप्पणीहरू