बिचरा रामचन्द्र
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उद्घाटन मोह देखेर म चाहिँ छक्कै परेँ । एउटा पुल उद्घाटन गर्न उहाँले गरेको मरिहत्ते देखेर यस्तो लाग्यो कि राजनीतिमा सबैभन्दा ठूलो कुरा भनेकै उद्घाटन हो । त्यसमाथि रामचन्द्र पौडेलको लागि उद्घाटनभन्दा ठूलो अर्को राजनीतिक कार्य छैन नै भन्दा पनि हुन्छ ।
उहाँ कांग्रेसका यस्ता अभागी नेता हुनुहुन्छ जो न कहिल्यै सभापति बन्न सक्नुभयो, न प्रधानमन्त्री । सभापति र प्रधानमन्त्रीको धेरै नजिक पुगेर पनि कुर्सीमा बसिहाल्न नसक्ने नेता हुनुहुन्छ पौडेलजी । कुर्सीमा बस्न पाएको भए यस्तो उद्घाटन–सुद्घाटन त कति गरिन्थ्यो गरिन्थ्यो । कुर्सीमा बस्न नपाएका कारण उहाँभित्र सँधै नै उद्घाटनको तृष्णा रहिरह्यो ।
त्यही तृष्णा मेट्न पुल उद्घाटन गर्न जानुभएको हो । तर कम्युनिष्टहरूले त्यति पनि गर्न दिएन । कांग्रेसले उहाँलाई न सभापति बन्न दियो न प्रधानमन्त्री । कम्युनिष्टले पनि न उद्घाटन गर्न दियो, न भाषण गर्न दियो । बिचरा कांग्रेस र कम्युनिष्ट दुवैतिरबाट पेलान । उद्घाटन गर्न जाँदा पुलिसले त्यत्रो डण्डा पेल्यो । काठमाडौंमा देउवाले ओलीलाई एक फोन हान्दा, कुरै सकियो । बिचरा रामचन्द्रलाई अब रामैले बचाए मात्रै हो ।
टिप्पणीहरू