रामचन्द्रचाहिँ सौताको छोरो ?

रामचन्द्रचाहिँ सौताको छोरो ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै पार्टीभित्रका समेत प्रतिपक्षी हुन् । सभापति देउवासँग निरन्तर सैद्धान्तिक र व्यवहारिक असहमति जनाउँदै आएका उनलाई काँग्रेसीहरूले तुलनात्मक रूपमा कम्युनिष्टहरूसँग ‘कडा र रुखो’ व्यवहार गर्ने नेताको रूपमा लिने गर्दछन् । नेकपाभित्रको किचलो आफूले नजिकबाट अध्ययन गर्दै आएको बताउने पौडेलले ‘बालुवाटार र खुमलटार मिल्ने कुनै ठाउँ नै नदेखेको’ बताएका छन् ।

अघिल्लो साता गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न जाँदा सत्तारुढ दलस“ग घम्साघम्सी परेपछि केही घण्टा प्रहरी हिरासतमा पुगेका पौडेलले त्यसयता केपी ओली सरकारप्रति चर्को असन्तुष्टि पोख्दै आएका छन् । उनले ‘केपी सुध्रिँदैनन्, घामड भएका छन् र पक्षपातीसमेत देखिए’ भनेर एकै सासमा सरकार र प्रधानमन्त्रीको मूल्याङ्कन गरेका छन् ।

सरकारले यसबीच काँग्रेस र कम्युनिष्ट भनेर स्पष्ट कित्ताकाट गरेकोसमेत उनको आरोप छ । सरकारले हालसम्म सभामुख भएकाहरूमध्ये कम्युनिष्ट जतिलाई पूरा सुविधा दिएर काँग्रेसका पूर्व सभामुखहरूलाई थाङ्नामा सुताएको बताएका छन् । संवैधानिक अंगका प्रमुखहरूको अवकाशपछि राज्यले तोकेको सुविधा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थालाई हालको सरकारले पनपच्छे गरेको पौडेलको आरोप छ ।

उनका अनुसार कम्युनिष्टबाट सभामुख बनेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, कृष्णबहादुर महरा र ओनसरी घर्तिलाई सबैथोक दिँदा काँग्रेसबाट सभामुख बनेकालाई केही पनि दिइएको छैन । पौडेलको भाषामा ‘तिनलाई राज्यको तर्फबाट सारा सुविधा दिइएको छ । जबकि आफू उनीहरूभन्दा वरिष्ठ पूर्व सभामुख हुँदासमेत लत्याइएको छ ।’ काँग्रेसको तर्फबाट यसअघि दमननाथ ढुंगाना, तारानाथ रानाभाट र रामचन्द्र पौडेल सभामुख बनेका थिए ।

रानाभाट तत्कालीन राजा ज्ञानेन्द्रले डेढ वर्षपछि निर्वाचन गर्ने नाममा संसद बिघटन गरेपछि पनि निरन्तर सभामुख नै रहे । त्यसअघि उनले दरबार हत्याकाण्ड छानबीन समितिमा रहेर प्रतिवेदन सार्वजनिक गर्ने क्रममा निभाएको भूमिका र व्यक्त गरेको धारणा सर्वाधिक आलोचनाको विषय बनेको थियो । त्यसपछि उनलाई आफ्नै दलभित्रबाट चर्को राजावादी भएको आरोप लागेको कारण अहिलेसम्म पनि सक्रिय राजनीतिमा आउन सकेका छैनन् । स्रोतका अनुसार महरालाई भने सँसद सचिवालयले एउटा सवारी साधन (जीप) उपलब्ध गराएको छ ।

टिप्पणीहरू