काँग्रेसले डाक्यो इमर्जेन्सी बैठक

काँग्रेसले डाक्यो इमर्जेन्सी बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको सिफारिसमा एकाध घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विकसित राजनीतिक घटनाक्रममाथि छलफल गर्न पूर्व तथा वर्तमान पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ । पदाधिकारी बैठक भोलि दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

आज हठात् जारी अध्यादेशप्रति कडा प्रतिक्रिया जनाउँदै विवेकशील साझा पार्टीले समेत प्रधानमन्त्रीका कारण लोकतन्त्रमाथि नै खतरा बढेको निश्कर्ष निकालेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवेकशीलले ‘परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जना मात्रैको उपस्थितिमा पनि बैठक बस्नसक्ने र तत्काल बहाल सदस्य संख्याको बहुमतले निर्णय गर्नसक्ने प्रावधानसहित ल्याइएको उक्त अध्यादेश संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फको सरकारको अर्को कदम भएको’ ठहर गरिएको छ ।

उसले सरकारको अक्षमता र सत्तारूढ दलभित्रको किचलोका कारण मुलुक र नागरिकले चर्को मूल्य चुकाउनुका साथै प्रधानमन्त्रीको स्वेच्छाचारी कदमले संसदीय प्रणाली र लोकतन्त्रमाथि जोखिम बढाएको निश्कर्ष निकालेको छ । विज्ञप्तिमा भनिएको छ ‘संवैधानिक परिषद् ऐनको यसअघिको प्रावधानअनुसार शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका आधारमा संवैधानिक अंगहरूमा सक्षम र योग्य व्यक्तिहरू नियुक्त गरियोस् ।’

टिप्पणीहरू