नगरी नहुने प्रदर्शन

नगरी नहुने प्रदर्शन

अन्ततः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रदर्शन शुरु गरेछ । धेरै भयो कांग्रेसले प्रतिपक्षीय भूमिका निर्वाह गर्न नपाएको । धेरैको अनुमान के छ भने अस्ति वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्न नदिएको झोंकमा कांग्रेसले यो प्रदर्शन गरेको हो । आफ्नो पार्टीका वरिष्ठ नेतालाई आक्रमण गरेपछि जसलाई पनि झोंक चल्छ । यो प्रदर्शन पनि त्यही झोंकको परिणाम हो ।

तर यथार्थमा कुरो यो होइन । आक्रमण त स्वयम् सभापति देउवालाई पनि गरेको छ नि । आफ्नै पार्टी कार्यालयमा नेविसंघका कार्यकर्ताहरूले आक्रमण भएको होइन ? तर खोइ त, त्यतिबेला यस्तो कुनै प्रदर्शन भएको । अतः यो प्रदर्शन पनि त्यस्तो कुनै आक्रमण–साक्रमणको कारणले भएको होइन । यो प्रदर्शन हुनुको एउटै मात्र कारण हो, राजावादीहरूको प्रदर्शन । राजावादीहरूले लगातार प्रदर्शन गर्न थालेपछि कांग्रेसभित्र एउटा संकट आइपरेको छ । त्यो के हो त भन्दा राजावादीहरूको प्रदर्शनमा कांग्रेसका कार्यकर्ताहरूले पनि धमाधम भाग लिन थालेछन् । कतै कतै त कांग्रेसका नेताहरू समेत पुगेछन् । यसले गर्दा कांग्रेसलाई कार्यकर्ता रोक्नै गाह्रो हुन थाल्यो । कार्यकर्ताहरू धमाधम राजावादीतिर जान थाले भने कांग्रेसमा बच्छ के ? त्यसैले कार्यकर्तालाई रोक्नैकै लागि भए पनि एक दुई वटा प्रदर्शन नगरी नहुने भयो । त्यही कारण यो प्रदर्शन गरिएको हो । कुरा त बुझ्नुभयो होला नि !

टिप्पणीहरू