सरापेपछि दिन लागियो सुविधा
भिआइपीहरूको सुविधामै विभेद । सरकारले दिने सहुलियत पनि कस्तो भने कांग्रेसीले नपाउने, कम्युनिष्टले मात्र पाउने ।
यस्तो विभेद देखिएको हो पूर्वसभामुखहरूले पाउँदै आएको सुविधामा । आठ जनाले सभामुख खाएकामध्ये कृष्णप्रसाद भट्टराई बितिहाल्नुभयो । ०४८ देखि ५१ का सभामुख दमननाथ ढुंगाना, ०५१ देखि ५५ सम्म सभामुख रामचन्द्र पौडेल, ०५६ देखि ०६३ सम्मका तारानाथ रानाभाट । ०६३ पछि दुई कार्यकाल ०७२ सालसम्म सुवासचन्द्र नेम्बाङले चलाउनुभयो । ०७२ देखि ०७४ सालसम्म ओनसरी घर्ती, ०७४ पछि कृष्णबहादुर महरा सभामुख बन्नुभयो । जसमध्ये भिआइपीको सुविधा बुझ्नेचाहिँ लोकतन्त्र स्थापनापछिका सभामुखहरू सुवास, ओनसरी र कृष्णबहादुर महरा मात्र । तारानाथ रानाभाट, रामचन्द्र पौडेल, दमननाथ ढुंगानाचाहिँ यो सुविधाबाट वञ्चित । पूर्वसभामुखहरूले कार वा जिप, ड्राइभर र डिजेल–पेट्रोललगायत सुविधा पाउँदै आएका छन् । राज्यले दिने सुविधामा पनि किन कांग्रेस र कम्युनिष्टबीच विभेद ? जनआस्थाले संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डेसँग जिज्ञासा राख्दा भिआइपीलाई दिइने सेवा–सुविधासम्बन्धी स्पष्ट कानुनको अभावमा यस्तो समस्या भइरहेको सुनाए । यस्तै स्थिति छ प्रधानन्यायाधीशहरूको हकमा पनि । कोहीले पाउने, कोहीले नपाउने । मन्त्रीस्तरीय र पटके निर्णय गरेर केहीले सुविधा लिइरहेका छन् भने केही वञ्चित छन् ।
हालै तनहुँमा पूर्वसभामुख रामचन्द्र पौडेलमाथि हमला भएर उहाँले बालुवाटारको सर्वदलीय बैठकमा कुरा कोट्याउनेबित्तिकै क्याबिनेट बैठकले रामचन्द्र पौडेल र कृष्णबहादुर महरालाई गाडी, ड्राइभर सुविधा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नामै तोकेर दुई जना पूर्वसभामुखलाई सुविधा दिन संसद् सचिवालयमा पत्र पुगेको छ ।
टिप्पणीहरू