कतै विदेशको पुरस्कार, कतै तिरस्कार

भदौ ९ मा संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा गर्दा खटिएको ठाउँमा जान नमान्नेले विदेश पोस्टिङ पाएका छन् । सरुवा सूचीको पहिलो नम्बरमा थियो दिनेश घिमिरेको नाम प्रदेश १ विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा जाने गरी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत घिमिरे खटाएको सय दिनसम्म सिंहदरबारतिरै घुमिरहे । तिनैलाई गत बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले छेन्दुको महावाणिज्यदूत बनाएर पुरस्कृत गरेको हो । निजामती सेवा नियमावलीको दफा ३९ मा खटाएको ठाउँमा हाजिर भएपछि मात्र उसको अन्यत्र सरुवा वा काज हुन्छ । तर, खटाएको ठाउँमा हाजिर नगरी सरकारलाई नै चुनौती दिने सहसचिव घिमिरेलाई पुरस्कृत गरिएको छ ।

दिनेश मात्र प्रदेशमा जान अटेर गर्ने एक्ला कर्मचारीचाहिँ होइनन् । ९ भदौमा सरुवा भएका सिंहदरबार नछोड्ने सहसचिवहरूमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीहरू छन् ।

अर्काे रमाइलो छ कृषि मन्त्रालयतिर । दुवै सचिव प्राविधिक । साता दिनको फरकमा बढुवा भएका । एक सचिव अझै बधाई खाँदै छन् । तिनकोमा कर्मचारीदेखि बाहिरका मान्छेको भीड छ । अर्काे सचिवकोमा चरो मुसो छिर्दैन ।
योगेन्द्र कार्की बढुवा भएको दुई सातापछि वन सेवाका डा. पे्रमनारायण कँडेल सचिवमा उक्लिए । मन्त्रालयको दोस्रो तलामा छ उनको कार्यकक्ष । त्यहाँ सदैव कर्मचारीदेखि बाहिरका मान्छेको भीड लाग्छ । चौथो तलामा डा. पे्रमनारायण कँडेलको कार्यकक्षभित्र चरोमुसो छिर्दैन । अहिले मन्त्रालयकै कर्मचारी सचिवद्वयलाई ल्याइते र ब्याइते भन्न थालेका छन् । अस्तिको मन्त्रिपरिषद् बैठकले सचिवद्वय सुरेश आचार्य र इ. मणिराम गेलालको पदस्थापन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई सातासम्म अतिरिक्त समूहमा थन्क्याइएका सुरेशलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

गेलाल प्राधिकरणमा जान जोडबल गरिरहेका भए पनि उनको कसरत सफल भएन । यता, काठमाडौं महानगरझैं राष्ट्रिय सूचना आयोगमा सचिवको दरबन्दी कटौती भएको छ । नेपाल ट्रष्ट कार्यालयमा पनि दरबन्दी कटौतीको तयारी चल्दै छ ।

उता, स्वास्थ्य मन्त्रालयका सहसचिवले बस्ने ठाउँ र गाडी नपाएको भन्दै सचिव लक्ष्मण अर्यालसँग दुखेसो पोखेकी छन् । यससँगै १५ दिनको बिदा स्वीकृत भएको छ । ११ तहकी डा. थपलियालाई यसअघि २ वर्षसम्म जिम्मेवारीविहीन बनाएर थन्क्याइएको थियो । त्यहाँबाट स्वास्थ्य बिमा बोर्डमा निमित्त बनाएर लखेटिइन् । डा. दामोदर बसौलालाई बोर्डमा लगिएपछि उनलाई मन्त्रालय तानिएको हो । तर न जिम्मेवारी तोकियो, न त बस्ने ठाउँ नै छ !

टिप्पणीहरू