सुगौली सन्धिको प्रमाण सरकारसँगै छैन !
– कृष्ण अविरल
केही दिनअघि ‘देश सञ्चार’ नामक अनलाइन पत्रिकामा इतिहासकार योगी नरहरिनाथद्वारा संकति ऐतिहासिक कागजपत्रहरू नष्ट भएको भिडियोसहितको समाचार आएको थियो । ती बहुमूल्य वस्तु नष्ट हुनुमा राज्यका जिम्मेवार निकाय दोषी भएको आरोप लगाइएको रहेछ । हेरेर हाँसो लाग्यो– युवराज घिमिरेजस्तो दुनियाँले मानेको सम्पादक भएको अनलाइनमा पनि कति सतही समाचार !
त्यो भिडियोको लिंक मलाई पूर्वराजपरिवार निकट एकजना महानुभावले पठाएका थिए । तुरुन्तै जवाफ लेखे, ‘यो सब कनफट्टा जोगीहरूको बदमासीको परिणाम हो । भूकम्पलगत्तै ती कागजपत्र संरक्षण गरौं, योगी नरहरिनाथको ऐतिहासिक महत्वका पुस्तकहरू पनि प्रकाशित गरौं भन्ने प्रस्ताव लिएर जाँदा मलाई भुसुनो जति पनि महत्व नदिई फिर्ता पठाएका थिए ।’ तर मेरो लेखाइको जवाफ आएन ।
इतिहासले भन्छ– ०१७ सालमा राजा महेन्द्रलाई ‘कु’ गर्न उकास्नेहरूमध्ये योगी नरहरिनाथ प्रमुख हुन् । पञ्चहरूले ऊबेला भट्याउने गरेको ‘सनातनदेखि चलिआएको मुलुकको हावापानी सुहाउँदो व्यवस्था’ भन्ने शब्दावली उनै योगी नरहरिनाथको हो । राजा महेन्द्र गोरखा सवारी भएका बेला दलीय व्यवस्था फालेर मुलुकको हावापानी सुहाउँदो पञ्चायती व्यवस्थाको जग हाल्न नरहरिनाथले नउकासेका भए सायद ३० वर्षे कालरात्री नआउन पनि सक्थ्यो ।
१९७१ फागुन १७ गते कालिकोटको सान्नेदरा लालुगाउँमा जन्मिएका हुन् उनी । शुरुको नाम बलवीरसिंह रेक्सेन थापा हो । हरिद्वार गएर गुरm गोरखनाथको दीक्षा हासिल गरेपछि योगी नरहरिनाथ भएका हुन् । माता गौरीदेवी र पिता ललितसिंह रेक्सेन थापाका सात दाजुभाइमध्ये माहिला पुत्रको रूपमा जन्मिएका उनले दूरदराजमा डुलेर ऐतिहासिक महत्वका कागजपत्रहरू संकलन गरी ‘इतिहास–प्रकाशमा सन्धिपत्र संग्रह’ नामक जुन कृति प्रकाशित गरे त्यसको लागि उनलाई जति श्रद्धा गरे पनि कम हुन्छ । तर उनले जीवनमा एउटा यस्तो लापरवाही गरेका छन्, जसको लागि नेपाल र नेपालीले कहिल्यै क्षमा गर्न सक्दैनन् ।
कुरा पञ्चायतकालकै हो, २०२० सालतिरको । शायद ‘इतिहास–प्रकाशमा सन्धिपत्र संग्रह’को अन्तिम तयारीमा थिए । दरबारको पहुँच प्रयोग गरेर परराष्ट्र मन्त्रालयमा सुरक्षित सुगौली सन्धिको मूलप्रतिसहित निकै महत्वपूर्ण कागजातहरू लिएर गए । तत्कालीन रायल नेपाल एकेडेमी, श्री ५ को सरकार शिक्षा विभाग, पुरातत्व विभाग, श्री जगदम्बा एण्ड मदन पुरस्कार गुठी, त्रिभुवन विश्वविद्यालय ऐतिहासिक विभाग र बर्दिया वनधुस्रीका जिमिनदार हरिहर गौतमको आर्थिक सहयोगमा प्रकाशित ‘सन्धिपत्र सङ्ग्रह’ मा नेपाली, अंग्रेजी र पारसी भाषामा लिखित सुगौली सन्धिको पहिलो पाना प्रकाशित पनि गरे । तर ती कागजात कहिल्यै फर्काएनन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि ताकेता गर्ने आँट गर्न सकेनन् । उनी रिसाए दरबारले नोकरी खोस्न सक्थ्यो । त्यो जोखिम कर्मचारीले किन उठाउँथे ?
०४६ पछि परराष्ट्रका अधिकारीहरूलाई यो कुराको जानकारी नै पनि भएन । वि.सं. २०५९ फागुन १३ गते यिनी बितेसँगै अनुयायीहरूले उनीद्वारा संकलित कागजपत्र राज्यको जिम्मा लगाइदिएका भए यो स्थिति नै आउँदैनथ्यो । त्यति मात्रै होइन, भूकम्पपछि उनीहरू आफैँले पनि संरक्षणको पहलकदमी लिइदिएका भए राज्यको अमूल्य निधि नष्ट हुनबाट पक्कै जोगिने थियो ।
लिपुलेक, लिम्पियाधुराको नक्सा विवादपछि गठन भएका राज्य व्यवस्था र अन्य संसदीय समितिहरूले सुगौली सन्धिको मूलप्रतिको खोजी गरे । त्यतिबेला निकै ढिलो भइसकेको थियो । संयोग भनौं यतिबेला यो पंक्तिकार त्यही सुगौली सन्धिका केस्रा केलाउन व्यस्त छ ।
आफ्नो घरगृहस्थ राम्रोसँग चलाउन नसक्नेलाई छिमेकीले बरोबर हेप्नु्, आन्तरिक घरझगडामा हस्तक्षेप गर्नु, बेलामौकामा साँधसिमाना मिच्नु, अबोध छोराछोरीलाई न्यून बेतन दिने गरी नोकरचाकर बनाउनु अस्वाभाविक होइन । गतिछाडा घरमूली भएको निम्छरो परिवारमा ठूलाघरे छिमेकीको अरनखटन चल्छ नै । त्यसमा छिमेकीलाई दोष लगाउनुको कुनै तुक छैन । यस्तो बेथिति समाजमा शदीऔंदेखि चलिआएकै छ । बरु सोच्न जरुरी छ– आखिर छिमेकीबाट निरन्तर हेपिने स्थिति किन आयो ?
नेपाली समाज जस्तो चरित्रको छ, राजनीतिक नेतृत्व त्योभन्दा भिन्न हुनै सक्दैन । हामी प्रत्येक नागरिकको रक्त कोशिकाहरूमै रहेको चाकडीमुखी, ब्यक्तिवादी र अवसरवादी चरित्र निर्मूल नभएसम्म राजनीतिक नेतृत्व आदर्शवादी आउला भनेर आशा गर्नु पनि व्यर्थ छ ।
हामी कुन हदसम्मका चाकडीबाज छौँ भन्ने थाहा पाउन मामुली नेताका बैठककक्ष या आँगनमा हरेक बिहान जम्मा हुने भीड नै हेरे पुग्छ । राणातन्त्र, शाही निरङ्कुशता फालेर गणतन्त्र ल्यायौँ भन्छौँ तर संस्कारगत रूपमा राणाकालको चाकरीप्रथाबाट बाहिर आउनै सकेका छैनौँ ।
जनताले जब रैती मानसिकता त्याग्दैन भने गणतन्त्रका शासकहरूले आफूलाई पहिलेका महाराजको अवतार ठान्नु अस्वभाविक पनि होइन । कानुन मिचेर अवसर हात पार्न या आफू, सन्तति, नातेदारलाई नोकरी दिलाउन उच्चपदस्थहरूकहाँ पुगेर भनसुन नगर्ने को होला ? कानुनी दण्ड–कसुरबाट मुक्त हुन पहुँचको प्रयोग नगरी बस्न सक्छौँ ? आँखा चिम्लेर शान्त दिमागले सोचौँ त !
विदेशीको युद्ध–अत्याचारबाट प्रताडित नहुनु अर्थात् राष्ट्रियतामा संकट नआउनु नै हामी नेपालीहरूको पछौटेपनको मुख्य कारण हो । एक छाक खायौँ, गरिबीमा बाँच्यौँ तर खानै नपाउने अभाव र भोकमरी कहिल्यै व्यहोरेनौं । यही कारण हामीमा सामुहिकताको भावना जागृत नै भएन । राष्ट्रविकासको उत्कण्ठा उम्रनै सकेन । हामीमा राष्ट्रप्रेम त छ तर त्यो पनि लहडी र मौसमी ।
जबजब इतिहास विषयका पुस्तकहरूको अध्ययन थाल्छु मनमा एउटै मात्र हुटहुटी उत्पन्न हुन्छ– वि.सं. १८७२ मा ब्रिटिशहरूले हामीलाई किन पराधीन नबनाएका होलान् !
खासमा त्यो बेला ब्रिटिशहरू व्यापार गर्न भारत आएका थिए । उनीहरूलाई तिब्बतसम्मको सहज बाटो चाहिएको थियो । तराईको उब्जाउयोग्य जमिनको आम्दानी चाहिएको थियो । त्यसमा बाधक बनेका कारण नेपालसँग युद्ध भयो । नेपाल हडप्ने नै नियत हुन्थ्यो भने सयौं तोपगोला, हजारौं आधुनिक बन्दुक, गोर्खालीबाट हराइएका रजौटाहरूको साथ सहयोग अनि तीस हजार बढी तालिमप्राप्त सैनिक, युद्धका बखत जति पनि खाद्यान्न उपलब्ध गराउन सक्ने आर्थिक अवस्था, युद्ध घाइतेको उपचारका लागि विशेषज्ञ डाक्टरको पर्याप्त व्यवस्था भएको उसका लागि त्यो केही महिनाको काम थियो । पुगनपुग बाह्र हजार सैनिक, केही सय थान बन्दुक, रसदपानी समेत जुटाउन नसक्ने जर्जर आर्थिक अवस्था अनि घाइतेको उपचार गर्ने एकजना पनि दक्ष चिकित्सक नभएको नेपालले ऊसँग भिड्नु बुताको कुरा छँदै थिएन ।
अङ्ग्रेजसँग करिब दुई वर्ष लडाइँ भयो । उनीहरूका सबै शर्त स्वीकार्न राजी भएर चन्द्रशेखर उपाध्यायमार्फत् हस्ताक्षर गरेको पत्र पठाएपछि काठमाडौं हान्न भनी विशाल फौजसहित भीमफेदी आइपुगेका अक्टरलोनी फर्केर गएका हुन् । तर त्यो बेला हारेका हौँ भन्न हामीलाई किन सङ्कोच ?
सत्यचाहिँ के हो भने तराईतर्फको सीमा प्रष्ट नभएका कारण ४२ भन्दा बढी ठाउँमा विवाद भएको थियो । केही ठाउँमा दुईतर्फी वार्ताबाट विवाद सुलह पनि भयो । तर रौतहटका बाइस गाउँ र बुटवल–स्युराज (हालको शिवराज)को सीमा विवादमा नेपालले आफ्नो अडान नछाड्दा त्यसले युद्ध निम्त्याएको थियो ।
अल्लारे मुख्तियार भीमसेन थापाको सनकका अगाडि काजी अमरसिंह थापा, चौतारिया बम शाहलगायतका युद्ध अनुभवी भारदारहरूको केही लागेन । युद्धपछि हामीले ठूलो भूभाग गुमायौँ । सधैँका लागि खुम्चिने शर्तमा बाँधिएर सन्धि गर्न बाध्य भयौँ । त्यसपछि पनि दक्षिण तर्फको सीमाना प्रष्टसँग सिमाङ्कन गर्न सकेनौं । जङ्गबहादुरका पालामा जङ्गे पिलर गाड्ने काम त भयो तर समयमा मरमत सम्भार नहुँदा भारतीय पक्षले मिच्ने मौका पाइरह्यो । लामो समयसम्म देश राजनीतिक अस्थिरतामा गुज्रिएका कारण उसलाई सीमामा चलखेल गर्ने मौका मिलिरह्यो । सुगौली सन्धिको घाउ पटकपटक बल्झिरहने कारण नै यही रहेछ ।
यससँगै मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत सयमा ९९ वर्षका लागि गर्ने भनिएको कोशी सम्झौता कसरी १९९ का लागि हुन पुग्यो ? विश्वेश्वरप्रसादका पालाको गण्डक सम्झौता र गिरिजाप्रसादका पालाको महाकाली सन्धिको पनि केस्राकेस्रा केलाइरहेछु । चाहना छ– त्यो सन्धि पारित गराउन वार्षिक खर्ब, अर्बको आम्दानी हुन्छ भनेर नेपाली जनताको आँखामा छारो हाल्ने कथित राष्ट्रवादीहरूको असली अनुहार भोलिको पुस्ताले पनि चिन्न पाओस् ।
टिप्पणीहरू