ओलीबिरुद्ध आक्रोश

ओलीबिरुद्ध आक्रोश

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज गर्नुभएको संसद विघटनको विरुद्धमा देशका विभिन्न भागमा विरोध र प्रदर्शन भएका छन् । काठमाडौँको माईतीघरदेखि बानेश्वरसम्म सत्तारुढ दलका नेता कार्यकर्ता आकस्मिक रुपमा विरोध र्‍याली र सभा गरेका छन् ।

प्रधानमन्त्रीको स‌ंसद विघटन सिफारिशलाई नेकपा मकवानपुर जिल्ला कमिटीले घोर निन्दा र भर्त्सना गरेको छ । जारी प्रेस विज्ञप्तिमा ‘कमिटीले पार्टीभित्रको आन्तरिक विवादलाई पार्टीभित्रै समाधान गर्ने स्थापित मान्यतालाई कुल्चेर नेपालको कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने र लाखौं जनताको अगाध आस्था,लाखौं कार्यकर्ताको भावनामाथि गम्भीर आघात पारेको’ बताइएको छ ।

साथै,पार्टीका समग्र नेता तथा कार्यकर्ताहरूलाई कुनै भ्रममा नपरी पार्टी र पार्टी निर्णयको पक्षमा खडा हुनसमेत अपिल गरिएको छ ।

उता, बहुबिबाहवाला प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा प्रधानमन्त्री निकट समूहले आजै कैलालीमा भेला आयोजना गरेको छ ।

यस्तै रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सत्तारुढ पार्टी कार्यकर्ताले रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ रुकुमको आयोजनामा रुकुम पश्चिममा रास्ट्रपति बिद्या देवि भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएका हुन ।

अनेरास्ववियुको केन्द्रिय सदस्य रुकुम इन्चार्ज सुन्दर शर्मा, जिल्ला संयोजक सुशील बिस्ट, रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा रुकुम सह इन्चार्ज शैलेश शर्मा र जिल्ला संयोजक जनक बिकको उपस्थितिमा पुत्ला जलाइएको हो ।

पुत्ला जलाएपछि केही समय प्रदर्शन गर्दै कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, जस्ता नारा लगाएका थिए ।

यस्तै प्रधानमन्त्रीको कदम विरुद्ध डोटीमा पनि प्रदर्शन गरिएको छ ।

 

टिप्पणीहरू