नेकपा (सरकार) ले यस्तो लियो निर्णय

नेकपा (सरकार) ले यस्तो लियो निर्णय

बालुवाटारमा आज बिहान बोलाइएको नेकपा (सरकार) समूहको केन्द्रीय समिति बैठकमा मुलुकभरका निर्वाचित जनप्रतिनिधिहरूमध्ये गाउँ, नगर, जिल्ला गरेर २२ प्रतिशत लाई समेटिएको छ । बैठकले पार्टीको महाधिवेशन आगामी २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै राख्ने निर्णय छ ।

बैठकले कसैलाई पनि कारबाहीको निर्णय नगरेको तर प्रवक्तालाई मात्र जिम्मेवारीबाट हटाइएको छ । बालुवाटारमा आज बिहान सांसदहरूको भेलामा राष्ट्रिय सभाका सहित १ सय १४ जनाको उपस्थिति रहेको बताइयो । पहिलो चरणमा साविकको केन्द्रीय समितिका सदस्यहरूको उपस्थितिवीच अध्यक्ष केपी शर्मा ओलीको नयाँ केन्द्रीय सदस्यहरू मनोनयन गर्ने प्रस्तावलाई अनुमोदन गरिएको थियो । त्यसपछि थपिएका केन्द्रीय सदस्य(महाधिवेशन आयोजक समिति)सहितको बैठकले महाधिवेशनको मिति तोक्ने र प्रवक्ता फेर्ने काम गरेको हो ।

पार्टीको नाम परिवर्तन गर्नेसम्बन्धमा बैठकमा ‘कुन पार्टी कसले नेतृत्व गरेको हो र संस्थापन पक्ष को हो भन्ने कुरा निक्र्यौल गर्न पनि नेकपा नै राख्ने निर्णय गरिएको बताइन्छ । बालुवाटार बैठकले भोलि बुधबार सातवटै प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यहरूको भोलि ओरिएन्टेशन भेला सात वटा ठाउँमा राखेको छ । केन्द्रीय समितिको अर्को बैठक बिहीबार बोलाइएको छ ।

नेकपाको बिधानअनुसार अध्यक्षले सोझै नयाँ सदस्य थप्ने कुरो विधानसम्मत नभएको भन्ने सन्दर्भमा बैठकले पुरानो बिधान संशोधन गरेर अधिवेशन आयोजना गर्नको लागि जुझारु कार्यकर्तालाई केन्द्रीय समितिमा केपी ओलीद्वारा मनोनित गर्ने निर्णय गरेको बताइन्छ । बालुवाटारको केन्द्रीय समिति बैठकमा पूर्व माओवादीका मणि थापा,टोपबहादुर रायमाझी र लेखराज भट्ट मञ्चमा बसेका थिए भने पुरानो केन्द्रीय समितिको तर्फबाट केपी ओली,विष्णु पौडेल र सुवास नेम्वाङ्ग थिए । माधव नेपाल निकट भनिएका पूर्वमन्त्री शेरबहादुर तामाङ्ग पनि बालुवाटारमा देखिएका थिए ।

महाधिवेशन आयोजक कमिटी लाई पद तथा गोपनीयताको सपथग्रहण गराउदै

टिप्पणीहरू