जो बाँडिएर देखिए,जो दुईतिरै देखिएनन्
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको नेकपा (बहुमत) को बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिश र राष्ट्रपतिको अनुमोदनलाई प्रतिगमनकारी निर्णय भन्दै बिरोध गरेको छ । संविधानबिरोधी कार्य गरेको र जनभावनालाई अनादर गरेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
नेकपाको ४ सय ४५ सदस्यीय केन्द्रीय समितिका ३ सय १५ जनाको उपस्थिति रहेको बैठकले रिक्त अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई नियुक्त गरियोस् भन्ने अर्का वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावलाई पनि सर्वसम्मत रूपले पारित गरेको छ । अध्यक्ष प्रचण्ड निकट भनेर चिनिएका टोपबहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा बालुवाटार पुगेपनि हरिबोल गजुरेल भने बबरमहलमा उपस्थित हुनुहुन्थ्यो ।
तर,गृहमन्त्री रामबहादुर थापा बादल आज दुबैतिर देखिनुभएन । उपाध्यक्ष वामदेव गौतम पनि फुटको लागि आयोजना भएका कुनैपनि समूहको बैठकमा नजाने भन्दै घरै बस्नुभएको बताइन्छ । तर,नेकपाले बबरमहलमा भएको केन्द्रीय समितिको बैठकमा उपस्थित सदस्यहरूको संख्या दुई तिहाईभन्दा बढी देखिएकाले आज बालुवाटारमा गरिएको भेला र बैठक स्वतः गुट र फुटपरस्त प्रमाणित भएको जनाएको छ ।
केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ र भौतिक योजनामन्त्री रघुवीर महासेठ बबरमहलको बैठकमा हुनुहुन्थ्यो । तर उहाँकी धर्मपत्नी जुली महतो भने घरसल्लाहकै शैलीमा बालुवाटारतिर देखिनुभयो । स्रोतका अनुसार बालुवाटारमा भएको नेकपा (सरकारी) ले पुनर्गठन गरेर बनाएको १ हजार १ सय ९९ जनाको केन्द्रीय समितिमा अधिकांश जिल्ला कमिटीका सदस्यलाई नियुक्त गरिएको छ । ललितपुर जिल्ला कमिटीका मात्रै पाँच जनालाई केन्द्रीय सदस्य बनाइएको देखिन्छ । आज सम्पन्न केन्द्रीय समिति पुनर्गठनबारे नेकपा (सरकार) ले निर्वाचन आयोगलाई राजनैतिक दलसम्बन्धी ऐनको दफा ५१ अन्तर्गत जानकारी पत्र पठाएको छ । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्यहरु ऐन महर (संयोजक), रश्मि आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल पनि पार्टीको केन्द्रिय सदस्य भएका छन् ।
टिप्पणीहरू