ओलीसङ्गका अनेक उपाय
नयाँ पार्टी खोलेर अकण्टक प्रधानमन्त्री बन्ने दाउमा रहनुभएका केपी शर्मा ओलीसँग नेकपाको केन्द्रीय समितिमा रहेका झण्डै साढे ४ सय सदस्यमध्ये मुश्किलले १ सय २५ जना र प्रतिनिधिसभाका १ सय ७४ मध्ये बढीमा ७५ जना रहेकाले पार्टी विभाजनमा ४० प्रतिशतको संख्या कतैबाट पनि नपुग्ने अवस्था सिर्जना भएकै कारण पार्टीको बिधान फेरी आफूखुशी मनोनीत गर्ने बाध्यता आइलागेको छ । हालको ऐनमा रहेको ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या अपुग हुने भएपछि दल विभाजनको लागि सहज हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारीको तयारीमा बालुवाटार पुगेको छ ।
प्रतिनिधिसभा विघटन भएकाले संसदीय दलमा कति प्रतिशत सांसदको समर्थन रहेको भन्ने विषयले अब खासै अर्थ राख्दैन । त्यसैले केन्द्रीय समितिसँग जोडिएको प्रतिशतलाई मात्र संशोधन गरेर अरुलाई समेत अध्यादेशले सहज बनाउने रणनीति अपनाउन लागिएको बताइन्छ । किनभने पार्टी विभाजनको लागि खुट्टा उचालिसकेका मधेशवादी दलका मोहम्मद इस्तियाक राईहरूलाई समेत भोलिको लागि पार्टी विभाजनको मार्ग प्रशस्त गरिराख्ने दाउमा पनि उहाँ रहनुभएको आँकलन गरिएको छ ।
तर,यता खुमलटार समूहतिर राष्ट्रिय सभाका समेत २४ सांसदले हस्ताक्षर गरिसकेका छन् । दुईदेखि तीनजना थपिने लाइनमा रहेको बताइन्छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रतिनिधि सभाका निवर्तमान सांसदहरूले खुमलटारतर्फ बढी जोड दिएका छन् । अधिकांशको चाहना संसद पुनर्स्थापना भएकाले पनि उनीहरू खुमलटारको एजेण्डासँग नजिकिएका हुन् । नेकपाको केन्द्रीय समितिमा पूर्व माओवादीका १ सय ९५ जना एक ढिक्का छन् भने पूर्व एमालेकामध्ये वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमनिकट कम्तिमा १ सय प्लस गरेर ३ सय १५ जनाको समूह देखिन आएको स्रोतको दाबी छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा (बहुमत) को संसदीय दल बैठकमा अध्यक्ष प्रचण्डले सारमा ‘संसद मरेको छैन र हामी पनि मरेका छैनौं’ भन्नुभएको थियो । त्यसपछि काँग्रेसको केन्द्रीय कार्यालय,सानेपामा बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिश र राष्ट्रपतिको अनुमोदनलाई नेकपा,काँग्रेस र जनता समाजवादी दलले गैरसंवैधानिक एवम् संघीय लोकतान्त्रिक गणतन्त्र विपरितको संज्ञा दिएको थियो ।
जनता समाजवादीले बुधबार देशभरि बिरोध कार्यक्रम तय गरिसकेकाले आगामी कार्यक्रम तीन वटै दलले आ-आफ्ना केन्द्रीय समितिले तय गर्ने बताइएको छ । बैठकमा जसपाका नेता शरद्सिंह भण्डारीले नेकपाका नेताहरूतर्फ लक्षित गर्दै यता नेकपाका नेताहरू,उता नेकपाको सरकार भनेर हँसिमजाक गरेका थिए ।
सोमबार बिहान बालुवाटारमा बोलाइएको नेकपा (सरकार) समूहको सांसदहरूको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई पहिले झापामा छँदा सीपी र आरके मैनालीहरूले पनि कारबाही गरेकै हुन् क्यार’ भनेर नेकपाको सम्भावित कारबाहीलाई हलुका ढंगले लिनुभएको थियो ।
ओलीले अहिलेको अवस्थालाई पार्टी विघटनसँग तुलना गर्दै आफू एमाले र उनीहरू (खुमलटार समूह) माओवादी भनेझैँ गरी अर्थ लगाउनुभएको थियो । एकातिर म दशौ महाधिवेशन गर्दैछु,मलाई अध्यक्षबाट हटाउन सक्दैनन् भन्ने अर्कोतर्फ एमालेका केही चोइटिएर माओवादीमा गएकाले आफूलाई कुनै लछारपाटो लगाउन नसक्ने आशय राखेकोलाई बालुवाटार निकटहरूले नै पचाउन नसकेको बताइन्छ ।
टिप्पणीहरू