कुरा फेरि पनि वामदेवकै

कुरा फेरि पनि वामदेवकै

नेकपा लमजुङ्गका सबैजसो नेता तथा अगुवा कार्यकर्तालाई नेकपा (ओली समूह) ले केन्द्रीय कमिटी सदस्य बनाएको छ । एउटा जिल्लाबाट कम्तिमा ८ जनाको दरले केन्द्रीय कमिटीमा सदस्य नियुक्त गर्दा अधिकांश स्थानीय तह र पालिकाका मेयर,उपमेयर तथा अध्यक्ष र उपाध्यक्षलाई राखेको देखिन्छ । जिल्ला कमिटीका पाँच जनालाई समेत मनोनयन गरेपछि अहिले नेकपा (ओली समूह) को केन्द्रीय कमिटीमा लमजुङ्गका गुमानसिंह अर्याल,लक्ष्मी अधिकारी,धनञ्जय दवाडी,जमिन्द्रमान घले,पृथ्वीसुब्बा गुरुङ्ग,टुका हमाल,मायानाथ अधिकारी र दिपा बस्नेत गुरुङ्ग देखिएका हुन् ।

सिन्धुली जिल्लाबाट पुरानाबाहेक थप पाँच जनालाई बालुवाटारले केन्द्रीय समितिमा मनोनयन गरेको छ । हिजो तत्कालीन एमालेमा गतिलो शक्ति केन्द्रको रूपमा स्थापित नेकपा उपाध्यक्ष वामदेव गौतम निकट अधिकांश नेता तथा कार्यकर्ता भने यतिखेर धेरै नेकपा (बहुमत) तर्फ र केही ओली समूहमा पुगेका छन् । अहिले पनि अधिकांश शुभचिन्तकले गौतमलाई नयाँ पार्टी खोल्ने समय नभएकाले ‘लाइन क्लियर’ गरेर बहुमत देखिएको संस्थापन पक्षमा खुलेर लाग्न अनुरोध गर्दै आएका छन् ।

तर, जवाफमा गौतमले ‘ओलीको गैरसंवैधानिक र अराजक कदमलाई स्वीकार गरेर अघि बढ्न कदापि मन छैन । माओवादी साथीहरूको हिजोको हत्या,हिंसालाई ठीक हो भन्न पनि मन मान्दैन कमरेड !  त्यसैले म केही समय चुपचाप बस्छु’ भनेर निकटस्थहरूसँग बताएको स्रोतको दाबी छ । आफ्ना नेता तथा कार्यकर्ताको रक्षाको लागि पनि स्पष्ट धारणाकासाथ अघि बढ्न ढिलो भइसकेकाले नेकपाको बहुमततर्फ आफ्नो स्थान सुरक्षित गर्न दिइएको सुझावलाई उहाँले मनन् गरेपनि कार्यान्वयन गरिनसकेको बताइन्छ । मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गौतमबीच केहीबेर भलाकुसारी भएको छ ।

टिप्पणीहरू