माओवादीहरू ट्युमर नै हुन् : महेश बस्नेत
बालुवाटारमा हिजो बिहान भेलामा बोल्दा प्रधानमन्त्रीका विश्वासपत्र महेश बस्नेतले ‘पूर्व माओवादीहरू हाम्रोलागि ट्युमर (ऐँजेरु) नै साबित भएका थिए । बल्ल निकालियो, आनन्द भयो’ भन्दै गर्दा सामुन्ने रहेका पूर्व माओवादी समूहका टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टहरूसँग ट्वाँ परेर सुन्नुको विकल्प भएन ।
रायमाझीका समकालीनहरू भन्छन् ‘टोपबहादुर फेन्टास्टिक (बिन्दास) खालका मान्छे हुन् ।’ हुन पनि धेरै अघिदेखि नै उनी जीवन भनेको खाने, पिउने र मस्तसँग जिउने रहेको बताउँथे । नभन्दै हालसालै उनले ललितपुरको सातदोबाटो र हात्तिबनको बीच हाइटमा १२ आनामा बनेको साढे तीन तले आलिशान बङ्गलो किनेर आरामदायी र सुखसयलपूर्ण जीवन जिउन थालेको निकटस्थहरूले बताएका छन् ।
नयाँ घरमा रायमाझीले पुँजीवादी शैलीमा अजङ्गको कुकुर पालेका छन् । बिहान उठेर कुकुरसँग खेल्ने र रमाउने दिनचर्या पनि शुरु गरिसकेको बताइन्छ । बङ्गलो सुहाउँदो तरिकाले कम्पाउण्डमा सँधै तीन, चार किसिमका सवारी साधन देखिन्छन् । अहिले एउटा टोयोटा निक्सन,एउटा पजेरो र एउटा क्रेटा गाडी प्रायः कम्पाउण्डमा देखिने गरेको बताइन्छ । रेखदेखको लागि कम्पाउण्डमा छुट्टै पाले बस्ने घर पनि बनाइएको छ ।
नेकपाभित्र बालुवाटार कि खुमलटार भन्ने बहस चर्कंदै गएपछि रायमाझी धेरै समय बालुवाटार र थोरै समय खुमलटारतिर झुल्कँदै आएका थिए । एकपटक उप प्रधानमन्त्री, एकपटक ऊर्जा र अर्कोपटक भौतिक योजना मन्त्री बनिसकेकाले पनि हुनसक्छ स्वाद कताको गुलियो हुन्छ भन्ने बारेमा रायमाझी जानकार नै छन् । बालुवाटारतिर लाग्दा कम्तिमा एक वर्ष सत्ता लम्बिने भएपछि केही न केही मिल्ने जोडघटाउमा उनी त्यता लहसिएको बताइन्छ ।
माओवादी पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलनपछि रायमाझी केन्द्रीय सचिवसम्म भएका थिए । एकताका यिनीसहित बाबुराम भट्टराई, मणि थापा, देवेन्द्र पौडेलहरूले हरिबोल गजुरेललाई महासचिव बनाएर एकता महाधिवेशन सम्पन्न गरेका थिए । बालुवाटारले आज बुधबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा उनलाई वक्ता बनाइएको छ ।
टिप्पणीहरू