कुन एमाले आउला त कमरेड !
‘आफैं घर छोड्नेले मूल घर पाउँदैन नि !’ कतै केपी ओली समूहले चुनाव चिह्न ‘सूर्य’ दावी गर्लान् र निर्वाचन आयोगले सर्लक्कै दिइहाल्ने त होइन भन्ने चिन्ताका कारण प्रचण्ड–माधव पक्षका एक नेताले हिजो मंगलबार निर्वाचन आयोगका एक पदाधिकारीलाई खबरदारी गर्दा उनै पदाधिकारीले भनेका हुन्, ‘घर छोड्नेले घर पाउँदैन नि !’
अस्ति पूर्व सांसदहरुको भेला गरेर ‘अदालत, सेना, प्रहरी सबै मिलाइसकेँ’ भन्ने प्रधानमन्त्रीले निर्वाचन आयोगलाई पनि के बाँकी राख्नुहोला र भन्ने आशंकाका कारण ती नेताले फोन गरेका थिए । जवाफ पाए, ‘भोलि यहाँबाट हिँडेपछि हामीलाई पनि आमनागरिक जस्तै जीवन यापन गर्नु छ । आज हामी कानुनको बर्खिलाफ हुने गरी केही पनि गर्दैैनौँ । किनभने, त्यो बर्खिलाफले भोलि हामीलाई पनि रुवाउने दिन आउनसक्छ ।’
निर्वाचन आयोगस्रोतका अनुसार, ‘सूर्य’ चिह्नका लागि पार्टी एकीकरणताका पेश भएको केन्द्रीय कमिटीको दस्तखतमात्रै वैध हुन्छ । त्यो नामावलीको बहुमत भयो भने बहुमत पक्षले मात्रै चुनाव चिह्न पाउने व्यवस्था छ । तर, केपी समूहले हिजो बालुवाटारमा विधान संशोधन गरेर ११९९ जना महाधिवेशन आयोजक समिति सदस्य भन्दै थपेर नामहरु बुझाएको छ । ‘थप गरिएका नामको कुनै अर्थ छैन’, आयोगस्रोतले बतायो ।
उता ओली समूहको ‘एमाले’ नामको पार्टी व्युँताउने तयारी छ । एकजना नेता भन्छन्, ‘के ०३५ देखि ०४७ को माले र ०५४ मा बनेको माले एउटै हो ? होइन नि ! अब उहाँहरुले बनाउने भनिएको एमाले पनि ३१ महिना पहिलाको हैन ।’
टिप्पणीहरू