संसद सिध्याउनुअघिको कडिकडाउ संवाद

संसद सिध्याउनुअघिको कडिकडाउ संवाद

उहाँले ‘राष्ट्रपतिलाई म अहिले भर्खरै स्वीकृत नगर्नुस् भनेर आउँछु क्या’ भन्नुभयो । मैले ‘फोनमै राष्ट्रपतिलाई एकछिन है भने पनि हुन्छ नि’ भनेँ । उहाँले ‘राष्ट्रपतिलाई आदेश दिएजस्तो हुन्छ, त्यसैले त्यहीँ गएर भन्छु’ भन्नुभयो । त्यसपछि ‘साँच्चै त्यसै भनेर आउनुहुन्छ त ?’ भनेर सोधेँ । ‘५–१० मिनेट त लाग्ने हो’ भन्नुभयो ।

मैले भनेँ, ‘विघटनकै सिफारिस भइसकेपछि त्यति सजिलै फिर्ता हुन्छ भन्ने लागेन । तर, पनि राष्ट्रपतिलाई अहिले सिफारिस स्वीकृत गरिनहाल्नुस् भनेर आउनुस् । म पनि खाना खाएर आउँछु, १२ बजेतिर यहीँ भेटौँ ।’ फर्किएर पनि आएँ । त्यसबेला साढे १२ जति बजेको थियो । माथि घाममा दुईजना मात्रै बसेर कुरा ग¥यौँ ।

मैले बुझ्दा शंकरहरुलाई विघटन हुँदैछ भन्ने थाहा थिएन । उहाँको कुनै तर्क र व्याख्याले त्यस्तो बुझिँदैनथ्यो । अनि, सुवासजीसँग कुरा गरेँ । शंकरले ‘केही हुँदैन’ भन्दै हुनुहुन्छ । ‘तर मैले त यस्तो सुनेँ’ भन्दा उहाँले ‘त्यस्तो त कसरी हुन्छ र ?’ भन्नुभयो । उहाँले पनि आश्चर्य प्रकट गरिरहनुभएको थियो । ‘मैले थाहा पाएको छु । तपाईं जानुस्, रोक्नुस्’ भनेकै हुँ ।

त्यहाँ सुवासजी, शंकरजीहरु हुनुहुन्थ्यो । ‘रोक्नु भन्नुभएन ?’ भनेर सोधेँ । सुवासजीले क्याबिनेटमा गइसकेको स्थितिमा ‘अस्तिको अध्यादेश फिर्ता गर्छु भन्ने बुझेको’ भन्नुभयो । त्यसो भएपछि अलिकति सम्भावना छ कि भन्या’जस्तो आशा भयो । तर, एकछिनपछि त्यहाँ बस्दाबस्दै विघटनको सिफारिस भयो भनेर क्याबिनेटभित्रैको कमरेडले मलाई भन्नुभयो ।

प्रधानमन्त्री नफर्किंदै थाहा पाएपछि सिद्धियो भन्ने भइहाल्यो । निस्कौँ कि भन्ने पनि भयो । उहाँ आएपछि ‘यो दुर्भाग्यपूर्ण भयो, बिडम्बना हो । तपाईंले इतिहासमा एउटा ब्लण्डर गर्नुभयो । बिल्कुल गलत गर्नुभयो । म भन्छु, त्यो निर्णय फिर्ता लिनुस्’ भनेर कराएँ । उहाँले ‘अहिले पनि सम्भावना त छ तर सिफारिस भइसक्यो, अब चुनावमा जाऔँ’ भन्नुभयो । मैले भनें, ‘यसरी चुनावमा जाँदा कहाँ पु¥याउँछ भन्ने कुरा कत्तिको महसूस गर्नुभएको छ ?’ उहाँले ‘म राष्ट्रपतिकहाँ गएर आउँछु’ भन्नुभयो ।

मैले भनेँ, ‘पहिला यहाँ फिर्ता लिने सहमति गरौँ, अनि जानुस् राष्ट्रपतिकहाँ । नभए यो चिजले धेरैतिर हान्छ । अहिलेसम्म पनि चिज हाम्रै हातमा छ । मैले तपाईंलाई अघि नै पनि भनेको छु कि पार्टीलाई एकताबद्ध गर्ने र अगाडि जाने विकल्प पनि सोचेर आएको छु । त्यो मैले भन्नै पाएको छैन । त्यसैले पहिला फिर्ता लिने कुरा गरौँ अनि जानु होला ।’

मैले पुस ५ गते बिहान साढे ५ बजे नै आज संसद विघटन हुँदैछ भनेको थिएँ । त्यसलाई रोक्नका लागि सिनियर कमरेडहरुसँग कुरा गर्नुको साथै स्वयं प्रधानमन्त्री क.केपी ओलीलाई फोन गरेर ‘तपाईं आज फेरि अर्को दुर्घटना गराउन जाँदै हुनुहुन्छ भन्ने सुनेँ, जे भए पनि हामी धुम्बाराहीमा बसेको बैठकपछि तपाईंहरुले भनेबमोजिम बैठक रोक्दै, अन्तरक्र्रिया र गृहकार्य गर्दै कहीँ न कहीँ पार्टी एकताको रक्षा र हाम्रो यो प्रक्रियालाई अझ बढी जनवादी ढंगले एउटा निश्कर्षमा पु¥याऔँ’ भनेँ ।

धुम्बाराही बैठकमा उहाँहरुसमेतको आग्रहलाई मध्यनजर गर्दै दुईटा प्रस्तावभन्दा राम्रो प्रस्ताव तयार भयो भने पार्टी एकता झन् मजबुत हुन्छ भनिएकै थियो । यसै क्रममा केपी कमरेडको नजिक भएका कमरेडहरुसँग उतै (खुमलटारमा) छलफल पनि भइराखेकै हो । सुवास नेम्वाङ, शंकर पोखरेलदेखि विष्णु पौडेलसँग निकै गम्भीर ढंगले के सम्भावना र उपाय छ भनेर गम्भीर छलफल चलेकै थियो । हिजो बेलुका (पुस ४) महासचिवले फोन गरेर आफू र शंकरसहितले विभिन्न सम्भावना र उपायका बारेमा कुरा गर्न चाहेको भनेपछि आज बिहान ८ बजे खुमलटारमै छलफल गर्ने र उपाय खोज्ने सल्लाह भएको थियो । त्यसअनुसार बिहान पौने ८ बजे महासचिवले फोन गरेर ‘प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभयो, म आउन सक्ने भइनँ, शंकरचाहिँ आउनुहुन्छ, कुरा गर्नुहोला’ भन्नुभयो । शंकर आउनु पनि भयो । त्यसअगाडि क.जनार्दन शर्मा र म सँगै थियौँ । हामी तीनैजना बसेर एकछिन छलफल गरियो । मैले त थाहा पाइसकेको थिएँ, आज विघटनको तयारी चलिरहेको छ । यसर्थ लामो व्याख्या, विश्लेषण नगरिकन ‘यो दुर्भाग्यपूर्ण हुन्छ, त्यसकारण रोक्ने उपाय गर्न के गर्न सकिन्छ, सबै गरौँ’ भनेँ ।

अस्ति स्थायी कमिटीको यहीँ बालुवाटारको बैठकमा क.केपी ओलीले वामदेवजीलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भन्नुभयो । त्यो एउटा विकल्प त हो तर त्यो कुरा त्यति सजिलो र सहज छैन । त्यो विकल्पभन्दा पनि चालबाजीका रुपमा आएको हो । विकल्पहरु के हुनसक्छन् भने, दुईमध्ये (अध्यक्ष वा प्रधानमन्त्री) एउटाबाट हट्ने वा शुरुमा गरिएको आलोपालोवाला सहमतिमा जाने। यसबारे छलफल गरौँ तर आज विघटन गर्नबाट रोकौँ भन्ने मेरो आग्रह थियो ।

अनि मैले माधवजीसहित सचिवालयका कमरेडहरुसँग सम्पर्क गरेँ र कमरेड केपीलाई फोन गरेँ । ‘तपाईं एक्सट्रिममा जाँदै हुनुहुन्छ भन्ने सुनेँ, जे भए पनि दुईटा अध्यक्ष एकचोटि बसेर छलफल नगरिकन कुनै कदम नचाल्नुस्, म ११ बजे खाना खाएर तपाईंकहाँ आउँछु’ भनेँ ।

उहाँले ‘हुन्छ’ पनि भन्नुभएको हो । त्यो भन्ने क्रममा हामी सँगै (माधव) पनि छौँ । हिँड्ने बेलामा जनार्दन कमरेडले म राष्ट्रपतिकोमा जान्छु भन्नुभयो । म राष्ट्रपतिकहाँ गएर भए पनि रोक्नुपर्छ भन्नेमा थिएँ । जनार्दनले जान्छु भनेपछि रोक्ने कुरै भएन । (तर, केपी ओलीले) जनार्दन कमरेड राष्ट्रपतिकहाँ गएकोलाई अविश्वासको प्रस्ताव लिएर हो भन्ने पो बनाउनुभएछ । र, छिटो गर्नुप¥यो भन्ने भएर क्याबिनेट बैठक बोलाउनतिर लाग्नुभयो । जम्मा ४५ मिनेटअगाडि क्याबिनेट बैठक राख्न खबर गर्नुभयो ।

त्यो सुनेपछि फेरि प्रधानमन्त्रीलाई फोन गरेँ । ‘तपाईं र म एकचोटि नबसिकन क्याबिनेट शुरु नगर्नुहोला । म आइहालेँ । मलाई भेटेरमात्रै क्याबिनेट गर्नुहोला’ भनेर साढे ९ बजे नै (बालुवाटार) पुगेँ । महासचिव विष्णु पौडेललाई पनि भनेँ । फेरि पनि प्रधानमन्त्रीलाई फोन गरेर आउँदैछु भनें । उहाँले नै ‘हुन्छ, आउनुस्’ भन्नुभयो । मैले भनेँ, ‘एक–दुईवटा कुरा सोचेको छु । त्यसबारे छलफल गराँै । देशमा ठूलो दुर्घटना हुनुभन्दा स्थायी कमिटी बैठक तीन दिनलाई रोकाँैला ।’ प्रधानमन्त्रीले ‘हुन्छ’ भन्नुभयो र म (बालुवाटार) आएँ । आउँदा उहाँ हुनुहुन्थेन । स्टाफहरुलाई सोध्दा ५ मिनेटमा आउँछु भनेर निस्कनुभयो भने । बुझ्दाखेरी त क्याबिनेट रुममा पसिसक्नुभएछ ।

अब (संसद) विघटन भइसक्यो भनेझैँ बुझेँ । ‘यो ब्लण्डर भएको छ । अलोकतान्त्रिक छ । असंवैधानिक छ । तानाशाही प्रकृतिको छ । फिर्ता लिनैपर्छ, बर्बाद हुन्छ’ भनेँ । उहाँले ‘फिर्ता हुनसक्दैन । मिलेर, चुनावमा जाऔँ’ भन्नुभयो । मैले भनेँ, ‘त्यति सजिलो ठान्नुभएको छ ? तपाईंले भनेकै कुरामात्रै हुन्छ ? यदि पार्टीलाई एकतावद्ध गर्ने मन थियो भने मसँग छलफल नगरिकन त्यसै डिसिजन नगर्नुस् भन्दा पाँच मिनेट कुर्न सक्नुभएन ? तपाईंको नियत, मिशन अर्कै हो कि भन्ने लाग्यो । सबै चिज उल्ट्याउनेतिर जान खोजेजस्तो, तानाशाहीको पृष्ठभूमिमा गएजस्तो लाग्छ ।’ उहाँले सबै कुरा हुन्छ । मिलेर चुनावमा जाने भनिरहनुभयो ।

तल अरु साथीहरु हुनुहुन्थ्यो । घनश्याम भुषाल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतका । ‘उहाँहरुको पनि सुनौँ न त’ भन्ने भयो । माथि मैले ‘फिर्ता लिनुपर्छ’ भनिराख्ने, उहाँले ‘चुनावमा जानुपर्छ’ भनिराख्ने । अर्थ न बर्थको, कृत्रिमप्रकारको, जीवन नभएको छलफल भइरहेको थियो ।

तल आएँ । उहाँले ‘अब स्थिति यस्तो जटिल भयो । मलाई सबैतिरबाट अप्ठेरो पार्ने, असफल पार्ने, सरकारले पनि काम गर्न नसक्ने, पार्टीले पनि काम गर्न नसक्ने भएपछि यसो गर्दा पार्टी पनि एकताबद्ध होला, चुनावमा जाँदा ठीक होला भनेर यसो गरेको हो’ भन्ने व्याख्या दिनुभयो । छलफल गर्दागर्दै उहाँ खाना खान जानुभयो । यता (राष्ट्रपतिबाट सिफारिस) स्वीकृत भएको थाहा पाइयो ।

(नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र मध्यावधि निर्वाचन मिति घोषणा गरेको दिन (पुस ५ गते) बालुवाटारमा आयोजित स्थायी कमिटी बैठकमा भन्नुभएको कुरा जस्ताको तस्तै उतारेर यहाँ प्रस्तुत गरिएको हो ।)

टिप्पणीहरू