ओलीको भेलामा रायमाझीको गर्जन, फोटो ल्याउन बालुवाटारको उर्दी

ओलीको भेलामा रायमाझीको गर्जन, फोटो ल्याउन बालुवाटारको उर्दी

नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले पदका लागि पाँचवर्ष पनि कुर्न नसक्ने प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।

कार्यक्रममा उनले गर्जंदै भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा,नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रचण्डलाई आफूचाहिँ ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने अनि अहिले प्रधानमन्त्री पनि चाहिने यो कस्तो इच्छा हो ? भन्ने प्रश्न गर्दै अहिलेको अवस्था त्यसैको परिणाम भएको बताए ।

प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ थियो- पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजेपछि संसद विघटन गर्न बाध्य पारियो ।

कार्यक्रममा गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कैलाश ढुंगेल, आनन्द पोखरेल, डोरमणि पौडेल, भूमि त्रिपाठीलगायतको उपस्थिति थियो । कार्यक्रमको अन्तमा बालुवाटारमा भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउँदा सबैलाई तीन वटा पासपोर्ट साइजका फोटा र नेपाली नागरिकताको फोटोकपी ल्याउन भनिएको थियो ।

टिप्पणीहरू