आउने एक दिन, खाने पूरै दिन

आउने एक दिन, खाने पूरै दिन

५ पुसमा प्रतिनिधिसभाको अवसान भएसँगै जनआस्थाले मान्यज्यूहरूको संसद्मा उपस्थिति खोज्दा अचम्मको अभिलेख फेला परेको छ । जनप्रतिनिधिमूलक संस्थालाई प्रधानमन्त्री ओलीदेखि जनप्रतिनिधिहरूले हदैसम्म उपेक्षा गरिएको भेटियो । अधिकांश सांसदले एक दिन हाजिर गरेर महिनाभरिको तलब–भत्ता बुझेको र कतिपयले संसद् अधिवेशनको अन्तिममा हाजिरी स्वीकृत गराएको पनि देखियो । उदाहरणीय जनप्रतिनिधि हुन् नागेन्द्र कुमाल । उनी ०७७ वैशाख र जेठमा १ दिन पनि उपस्थित भएनन् । असारमा जम्मा १ दिन आएर महिनाभरको तलब–भत्ता बुझे । पदम गिरी, धनबहादुर बूढाहरूले पनि त्यसै गरे ।

डोल्पाका धनबहादुर बूढा असारमा १ दिन, जेठमा ५ दिन र वैशाखमा जम्मा ४ दिन उपस्थित भएर महिनाभरको तलब बुझे । स्वास्थ्य राज्यमन्त्री नवराज रावत वैशाखमा ३ दिन उपस्थित भए भने असारमा एक दिन पनि झुल्केनन् । सञ्चारमन्त्री पार्वत गुरुङको असारमा जम्मा २ दिन मात्र उपस्थिति देखियो । प्रदीप गिरी वैशाखमा १ दिन र असारमा जम्मा २ दिन उपस्थित भए । भीम रावल पनि असारमा जम्मा १ दिन मात्र देखा परे । पम्फा भुसालचाहिँ वैशाख र असारमा तीन÷तीन दिन उपस्थित भएको हाजिरीमा उल्लेख छ । ०७७ सालमा संसद् स्थगन हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली ९ दिन मात्र संसद्मा उपस्थित रहँदा पूर्वप्रधानमन्त्री प्रचण्ड १६ दिन, शेरबहादुर देउवा ९ दिन गएको देखियो, माधव नेपाल २५ दिन, उपेन्द्र यादव २२ दिन, झलनाथ खनाल २५ दिन, बाबुराम भट्टराई २३ दिन उपस्थित रहेको रेकर्ड छ ।

यस्तै ०७६ सालको विवरण खोतल्दा वर्षभरमा प्रधानमन्त्री ओलीको उपस्थिति १५ वटा बैठकमा मात्र रह्यो । वैशाखमा ५, जेठमा १, असारमा ३, साउन र असोज शून्य, भदौ, असोज, मंसिरमा १ एक दिन उनको उपस्थिति देखिन्छ । सोही वर्ष प्रचण्ड २४, महन्थ ठाकुर ६९, माधवकुमार नेपाल ७१, शेरबहादुर देउवा २२, झलनाथ खनाल ६३ वटा बैठकमा उपस्थित रहेको विवरण भेटिन्छ । ०७५ सालको वर्षभरि केपी शर्मा ओली २५ दिन बैठकमा उपस्थित रहँदा झलनाथ खनाल ७८, प्रचण्ड २४, माधव नेपालले ७६ वटामा भाग लिएको देखियो । ०७४ मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि फागुन २१ गते अधिवेशन शुरू भएको थियो । छैटौं अधिवेशन चल्दै गर्दा साउनमा संसद् स्थगन गराइयो । संसद्को दोश्रो अधिवेशन ०७५ वैशाख २३, तेस्रो अधिवेशन पुस ११ गते, चौथो अधिवेशन वैशाखमा चलेको थियो ।

विवरण हेर्दा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड, खनाल, नेपाल, देउवामध्ये नेकपाका वरिष्ठ नेता झलनाथ खनाल सबैभन्दा धेरै बैठकमा उपस्थित हुनेमा पर्छन् भने सबैभन्दा कम उपस्थित देउवा भएका छन् । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये सबैभन्दा कम उपस्थित हुनेमा प्रदीप यादव, निर्जला राउत, रुही नाज, शेरबहादुर देउवा, शिवकुमार मण्डल छन् । ०७७ सालमा यादव जम्मा १ दिन मात्र हाजिर भए ।

०७६ वर्षभरमा धनबहादुर बूढा १९ दिन मात्र संसद्मा झुल्किए जबकि त्यो वर्ष ९० दिनभन्दा बढी बैठक चलेको थियो । सुरेन्द्रकुमार यादव २०, नागेन्द्रकुमार २९, मोहम्मद इस्तियाक राई २२, शेरबहादुर देउवा २२, दिवंगत सूर्यबहादुर केसी २८, सूर्यनारायण यादव २९ दिन मात्र उपस्थित भए । ०७५ सालमा १०५ दिन बैठक चल्दा अभिशेषप्रताप शाह १३, केपी ओली २५, सूर्यनारायण यादव ११, गोकर्ण विष्ट २२, सूर्यबहादुर केसी २८, शेरबहादुर देउवा १६, प्रमोद यादव २७, रेणु यादव ३१, धनबहादुर बूढा, बिना मगर र विनोद चौधरी ३२ दिन उपस्थित रहेको भेटिन्छ ।

टिप्पणीहरू