त्यता झन हाइसञ्चो
प्रतिनिधिसभा विघटन भयो, जुन कुरा देशका लागि राम्रो होइन । तर, देशका लागि राम्रो नभएको यही प्रसंग कोही, कसैका लागि भने ‘बाख्रीको पुच्छर काटी बोकालाई सजिलो’ भनेजस्तो बन्न पुगेको छ ।
प्रसंग हो, नवगठित जनता समाजवादी पार्टीको । ६ मधेसी दल (राजपा), अशोक राई, बाबुराम भट्टराईहरूको उक्त एकीकृत पार्टीलाई संसदले भंग हुँदासम्म चिनेको थिएन । किनभने, यी तीनथरि राजनीतिक समूहको एकीकरण भए पनि संसदीय दल एकीकरणको सूचना संसद सचिवालयमा दर्ज हुन पाएको थिएन । ६ मधेसी दल एक भएर राजपा त बन्यो । तर, प्रदेशका संसदमा उनीहरूको उपस्थिति पुरानै पार्टीको नाममा भइरहेको थियो । त्यसैले संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि नै उनीहरूले दल एकीकरणको सूचना र संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक तोकेर जानकारी गराउनुपर्ने बाध्यता थियो । विचार र सिद्धान्तले एक भएका पार्टीको भद्रगोल मिल्न नसकेर देशमा संकट आइरहेको बेला यी त १० थरि विचार, १२ थरि सिद्धान्तका मान्छे † संसदीय दलका पदाधिकारी र भागबण्डाकै नाममा भर्खर जुटेका पार्टी फुट्ला भन्ने पिर थियो । कसरी मिलाउने भनेर नेताहरू सरसल्लाहमै थिए । तर, ‘न रहे बाँस, न बजे बाँसुरी’ भनेजस्तो संसद नै भंग भइदिएपछि हाइसञ्चो ।
विघटित संसदभित्र जसपाका दुईवटा संसदीय दल छन् । संसद सचिवालयले जसपा भन्ने पार्टी चिन्नै नपाई संसद भंग भइदियो । ६ वटा पार्टी मिलाएर बनेको राजपाको संसदीय दलका नेता राजेन्द्र महतो थिए, उपेन्द्र यादवको संघीय समाजवादी पार्टीका स्वयं उनै नेता थिए । प्रदेश २ मा संघीय समाजवादी पार्टी अध्यक्ष अहिले पनि विजय यादव नै छन् । त्यहाँ राजपाका प्रमुख सचेतक परमेश्वर साह र संघीय समाजवादीका दलेन्द्र यादव छन् । भदौमा निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिएको हो । तर, चार महिना लाग्दा पनि न संघमा, न प्रदेशमा पार्टी र संसदीय दल एकीकरण हुन सकेको छैन । त्यसमा पनि एकमना सरकार रहेको प्रदेश २ मा जसपाका नाममा संसदीय दलको कार्यालयसम्म छैन । त्यहाँ पहिला तत्कालिन फोरम र राजपाको गठबन्धनमा सरकार गठन भएको हो । फोरमले मुख्यमन्त्री लिएको थियो भने राजपाले सभामुखसहित तीन मन्त्रालय पाएको थियो । त्यहाँको संसदमा कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ११, फोरमका २९, राजपा २५ र दुईजना स्वतन्त्र सांसद छन् । राजस्व र प्राकृतिक स्रोत बाँडफाँडबाहेक १४ अर्ब बजेट केन्द्रबाट जान्छ । तर, सत्तारुढ पार्टीमै भाँडभैलो चल्दा अरु काम ठप्प छ ।
टिप्पणीहरू