यता न उता,गौतम अब कता ?
वामदेव गौतमलाई दुबै नेकपाले उपाध्यक्षसहित संगठन विभाग प्रमुखबाट हटाएको सुनिएको छैन । यद्यपि उहाँको पक्षधरता कता हो त्यो पनि खुलिसकेको छैन । गत आइतबारको प्रतिनिधिसभा विघटन पछि पार्टी स्पष्टत: दुई फ्याक भैसकेको छ । स्थायी र केन्द्रीय समितिका साथै सांसदको बहुमत संख्या रहेकाले खुमलटार नेकपाको संस्थापन पक्ष कायम रहेको छ । तर,पार्टी एकीकरणलाई जोगाउने एकसूत्रीय धारणा राख्दै आउनुभएका गौतम आइतबारपछि दुबै खेमातर्फ देखिनुभएको छैन ।
प्रधानमन्त्री ओलीले आफूपछिको दोस्रो स्थान अफर गर्नुभएको कारण गौतम अडिनुभएको बताइएको थियो । तर,त्यो पद पनि हिजोदेखि गृहमन्त्री रामबहादुर थापा बादलको भागमा गैसकेको छ । लामो समयदेखि प्रधानमन्त्रीको रवैया र शैलीसँग असहमत हुँदै आउनुभएका गौतमको एक साताको मौनताका कारण आफू निकटहरूले भने बाटो तय गरिसकेका छन् ।
आफ्ना मान्छेहरू लाखापाखा भइसके पनि कतै नखुलिसकेका एकाधसँग नयाँ पार्टी बनाउने सोच राख्नुभएको बताइन्छ । तर,यतिखेर नयाँ पार्टी खोलेर मूलधारमा ल्याउन त्यति सजिलो नभएको उनै शुभचिन्तकहरूले सुझाएका छन् । हुँदाखाँदाको त्यति ठूलो र शक्तिशाली पार्टी सञ्चालन गर्न नसकेर अहिले दुई चिरा भएको यथार्थ आफ्नै सामु उभिएको छ । यस्तो अवस्थामा नयाँ पार्टी खोल्न कसले साथ देला ? अनि कसलाई चाख होला ?
गौतमका अति घनिष्ठहरूका अनुसार ‘उहाँ जत्तिको प्रभावशाली र हक्की व्यक्तित्वले अहिलेको अवस्थामा मौनता साँध्नु भनेको यो वा त्यो कोणबाट बालुवाटारलाई नै साथ र सहयोग पुर्याउनु हो । त्यसैले अहिलेको अवस्थामा ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर अघि बढ्नुको विकल्प छैन ।’
दुई दशक अघिसम्म राजनीतिक दृढताको पर्यायवाची बनेका गौतमलाई पार्टीभित्र वा बाहिर कसैले पनि कम आँक्न सक्दैनथे । राजनीतिमा छुट्टै पहिचान बनाएको कारण उहाँलाई आमनागरिकले समेत लरतरो मान्छे होइन है भन्थे । स्वयम् वामपन्थी आन्दोलनलाई प्रारम्भिक कालदेखि नै अध्ययन गरेकाहरूले समेत मुक्तिमोर्चादेखि माले र एमालेलाई यो ठाउँसम्म ल्याइपुर्याउन धेरै हण्डर खाएका वामदेवको ठूलो योगदान रहेको अझै बताइरहेका छन् ।
टिप्पणीहरू