बादल बदलिरहन्छ

नेपाल कम्युनिष्ट पार्टी विभाजन हुने निश्चित भएपछि कमरेडहरू आ–आफ्नो गुट समाउने दौडधुपमा लागेका छन् । यताको उता गएका छन्, उताको यता आएका छन् । कोही यता आएका छन्, उता पनि गएका छन् । कोहीचाहिँ यता नआउने, उता पनि नजाने संकल्प धारण गरेर बसेका छन् । कोहीचाहिँ घरि यता आउने, घरी उता जाने गरिरहेका छन् । उनीहरूलाई अहिले फुर्सदै छैन । जस्तो कि कमरेड रामबहादुर थापा बादललाई हेर्नोस् । प्रतिनिधिसभा विघटनको सिफारिस हुँदा उहाँ खड्ग ओलीतिर, सिफारिस स्वीकृत हुँदासम्म प्रचण्डतिर । यस्ता गुट बदलुहरू अरु पनि होलान् ।

अब जहाँसम्म कमरेड बादलको प्रसंग छ, उहाँ नामले मात्र बादल होइन वास्तवमा कामले पनि बादल नै हुनुहुन्छ । बादलको स्वभाव सबैलाई थाहा छ, यो माथि आकाशमा हुन्छ, कहिले यता आइरहेको हुन्छ, कहिले उता गइरहेको हुन्छ । यसले नियमित रूपले नै आफ्नो आकार बदलिरहेको हुन्छ, स्थान बदलिरहेको हुन्छ । यो त बादलको स्वभाव नै हो । अब बादलको स्वभावअनुसार कमरेड बादलले काम गर्नु के गल्ती भयो र ?

टिप्पणीहरू