दुई जनामाथि परिस्थिति बिगारेको दोष

दुई जनामाथि परिस्थिति बिगारेको दोष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गरेरै छाड्ने बताउनुभएको छ । आजको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा भंग नभई केपी ओली नेतृत्वको सरकार भंग भएको बताउनुभयो ।

संविधानमाथि यति निर्मम प्रहार आजसम्म कसैले नगरेको भन्दै उहाँले आफैले बनाएको सम्बिधानमाथि ओलीले यति ठूलो घात गर्नुहोला भन्ने कहिल्यै नलागेको बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल,बुद्धिजीवी,नागरिक समाज आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशहरुदेखि हरेक क्षेत्रका मानिसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको बेला सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्दै प्रतिनिधिसभा बिघटनविरुद्ध फैसला आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अदालतको फैसलालाई प्रभावित पार्न सडकमा आएको नभई फैसलानिम्ति जनताले गरेको सहजीकरणको रुपमा सडकमा आएको रुपमा बुझिदिन आग्रह गर्नुभयो ।

लोकतन्त्रमाथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधी ल्याउने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिनिधिसभा विघटन तथा राजनीतिक दल विभाजन हठात निर्णय नभई प्रधानमन्त्री ओलीको वर्षदिनदेखिको योजना रहेको पनि प्रचण्डले बताउनुभयो । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु,स्थायी कमिटी बैठक चलिरहेको बेला निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा नेकपा (एमाले) दर्ता गर्नु, र पार्टीको नीति,सिद्धान्त र निर्णय नमान्नु जस्ता कुराले उहाँ योजनाबद्ध रहेको प्रमाणित हुने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिगमन रोक्ने तागत जनतासँग भएको भन्दै प्रचण्डले जनताले दिएको सार्वभौम अधिकारलाई दुई जना व्यक्तिले हत्या गर्न नमिल्ने बताउनुभयो ।

७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफूसँग भएको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले पाउने दिनको घामजस्तै छर्लङ्ग रहेको उहाँले बताउनुभयो । बैशाखमा चुनाव गर्नको निम्ति मिति घोषणा नभएको भन्दै प्रचण्डले निर्वाचनको भर नपर्न अन्य राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सरकारले चुनाव नगराई गणतन्त्र, संविधान तथा शान्तिलाई धरापमा पार्ने भएकाले संविधानको रक्षाको निम्ति सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । एकताबद्ध भई आन्दोलित भए प्रतिक्रान्ति सच्चिने उहाँको भनाई छ । सरकारको असंवैधानिक कदम फिर्ता नभएसम्म आन्दोलनका अन्य कडा कार्यक्रम जारी रहने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

टिप्पणीहरू