आन्दोलन नरोकिने अठोट
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ ।
आज काठमाडौको विरोध सभालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नभएको भन्दै अर्काको खिस्सीट्युरी गर्ने, सल्लाह तथा सामूहिकतामा विश्वास नगर्ने निरंकुश चरित्र रहेको बताउनुभयो ।
पार्टी निर्णय नमानेको कारण अध्यक्षबाट हटाएको तर सुध्रिनु हुन्छ कि भनी हालसम्म सदस्यबाट भने कारबाही नगरिएको अध्यक्ष नेपालले बताउनुभयो । प्रतिनिधिसभा बिघटन भएको अवस्थामा सरकार कामचलाउ हुने भएपनि सरकारले हालसम्म त्यस्तो घोषणा नगरेको उहाँको भनाई छ । ओली पक्षले विभिन्न लोभ, लालचमा मानिसहरु तान्ने प्रयास गरेको भएपनि बालुवाटारको गुटको भेला भएको र आफूहरु आधिकारिक रहेको बताउनुभयो ।
उता बरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानप्रति विश्वासघात गरेको बताउनुभएको छ । खनालले नयाँ संविधान बनाउँदा संसद विघटन हुने विषयमा प्रधानमन्त्रीको विशेषाधिकार राख्नुहुँदैन भनेर हटाएको र स्वयं केपी शर्मा ओली आफैले त्यसमा सहमति जनाएर पनि अहिले विश्वासघात गरेको बताउनुभएको हो । देश अस्थिरतातर्फ जान लागेको भन्दै उहाँले संसद पुनर्स्थापना अनिवार्य शर्त रहेको बताउनुभयो ।
गत निर्वाचनमा केपी ओलीलाई नभई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भिजनलाई हेरेर जनमत आएको भएपनि ओलीले बालुवाटार पुगेको दिनदेखि पार्टीलाई बिर्सिएको खनालले आरोप लगाउनुभयो । पार्टीको नीतिअनुरुप सरकारलाई समाजवादी बाटोमा हिडाउनुको सट्टा पुजीवादी नीति,कार्यक्रम र बजेट ल्याएको तथा तीन वर्ष केवल गफ हाँकेर बिताएको उहाँको आरोप थियो ।
खनालले अब पार्टीको एकता टुंग्याएर नयाँ जनआन्दोलनको आधीहुरी ल्याउने बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलनमा पनि ऐक्यबद्धता जनाउँदै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।
टिप्पणीहरू