एकातिरको प्लेन अर्कोतिर

अघिल्लो साता एउटा रमाइलो समाचार आयो– जनकपुर हिँडेको प्लेन पोखरामा उत्रिएको । एक साता बित्न नपाउँदै अर्को प्लेन फेरि त्यस्तै भएको छ । एकातिर भनेर उडेको प्लेन अर्कैतिर ल्याण्ड भएकोे छ ।

नेकपा एअरवेजको यो प्लेन ‘सुखी नेपाल’ गन्तव्यको लागि उडेको थियो । अहिले अचानक मध्यावधि चुनावमा गएर ल्याण्ड भएको छ । यो प्लेन मध्यावधिमा जानेबारे कसैलाई पनि खबर गरिएको थिएन । अहिले एकाएक त्यहाँ गएर ल्याण्ड भए पछि यात्रुहरूको बिचल्ली भएको छ । धेरैजसो यात्रु यो प्लेन यहाँ रोकेर हुन्न, गन्तव्यमै उडाउनु पर्छ भनिरहेका छन् भने केही यात्रुचाहिँ अब पाइलटले ल्याइहाल्यो, यहीं ठीक छ भनिरहेका छन् । अब यो प्लेन यहाँबाट पुनः उडाउने कि यहीं बिसाउने भन्ने भनाभन चलिरहेको छ ।

सुनिन्छ, पाइलटहरूका कारण यसरी प्लेनलाई बीचैमा ल्याण्ड गर्नुपरेको हो । यो दुइटा पाइलेट मिलेर चलाउने विमान हो । विमान उडाउँदा उडाउँदै पाइलटहरू बीच विवाद चलेछ । वास्तविक क्याप्टेन को भन्ने विषयमा । त्यही विवाद चर्कंदै गएर विमान यसरी बीच बाटोमै ल्याण्ड गर्नुपरेको बताइन्छ । नेपालको आकाशमा उडाइने प्लेनहरूको हालत यही हुने रहेछ कि क्या हो ?

टिप्पणीहरू