नेकपाकै नेताले बनाए चीनलाई निराश
दशकौँदेखि घनिष्ठ भाइचारा सम्बन्ध रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न असहज परिस्थिति र त्यसले पारेको दूरगामी असरबारे बुझ्न आइतबार दिउँसो काठमाण्डौ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल आज बिहानै सार्वजनिक एउटा नमीठो अनुभूति लिएर स्वदेश फिर्ता भएको छ ।
हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९७८७ बाट बिहान पौने १० बजे चीन फर्केको टोली र उसको नेपालीहरु मिलुन् भन्ने पवित्र उद्देश्यकासाथ भएको भ्रमणलाई सरकार निकटहरूबाटै लाञ्छित गर्दै व्यक्त विचार सार्वजनिक भएका छन् । यसबाट आन्तरिक राजनीति मात्रै होइन अब उत्तरी छिमेकीसँगको सम्बन्ध पनि चिसो बनाउन कोही कोही कम्मर कसेर लागेको समेत संकेत देखिएको बताइन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा आएको चार सदस्यीय टोलीले मूलतः यहाँको वस्तुगत अवस्था बुझ्ने कोशिस गरेको थियो । तर,आज वीरगञ्जमा ओली निकट समूहले गर्न लागेको कार्यकर्ता भेलाको पूर्व सन्ध्यामा हिजो आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री तथा प्रधानमन्त्रीका विश्वासपात्रमध्येका एक नेता सत्यनारायण मण्डलले दुई देशबीचको सम्बन्धमा नै आँच आउने गरी व्यक्त गरेको धारणालाई कूटनीतिक र राजनीतिक क्षेत्रमा अर्थपूर्ण ठानिएको छ ।
आज राजधानीबाट अन्नपूर्ण दैनिकमा प्रकाशित मण्डलका विचार र धारणामा भनिएको छ ‘चीनले जति प्रयास गरेपनि अब नेकपाको विभाजन रोकिँदैन । पछिल्ला दिनमा चिनियाँ नेता र प्रतिनिधि मण्डलका सदस्यहरूले काठमाडौंमा विभाजन रोक्न जसरी सक्रियता देखाए पनि त्यो अब असफल भइसकेको छ । उसले जति नै कोशिस गरेपनि नेकपा अब एक रहँदैन । यो सबै सक्रियता चीनले नेकपा र नेपालको हितमा नभई आफ्नो स्वार्थपूर्तिका लागि देखाएको हो ।’
प्रधानमन्त्री निकट समूहका नेताले बोलेका गम्भीर धारणालाई उनी निकट पत्रिकामा नै प्रकाशित गरिनुलाई पनि संयोग मात्र मान्न नसकिने बताइन्छ । मण्डल पूर्वमन्त्री तथा २ नं. प्रदेशमा ओली समूहका इञ्चार्ज हुन् । आज वीरगञ्जमा उक्त समूहले अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलको अध्यक्षतामा प्रदेशस्तरीय भेलाको आयोजना गर्दैछ ।
सरकार प्रमुखले नेतृत्व गरेको एउटा समूह निकटका एकजना नेताले दक्षिणी सीमा नजिकैको शहरमा गएर चीनले आफ्नो स्वार्थपूर्तिका लागि सक्रियता देखाएको भन्नुले अर्को अर्थ पनि राखेको छ । यतिबेला भारतीय विदेश मन्त्रालयका आलोकरञ्जन झाको नेतृत्वमा तीन सदस्यीय टोली पनि नेपालको वस्तुस्थिति बुझन् वीरगञ्ज आइपुगेको छ । त्यहाँ भारतको वाणिज्यदूतावास समेत रहेको छ ।
यति गम्भीर र संवेदनशील विषयमा बोलिएको कुरालाई अब छिमेकी मित्रराष्ट्र चीनले कसरी लिन्छ होला ? त्यसैगरी नेकपासँग असल सम्बन्ध कायम राखेको चिनियाँ कम्युनिष्ट पार्टीले कस्तो प्रतिक्रिया देला ? साथै, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार उहाँले नेतृत्व गर्नुभएको राजनीतिक समूहले कसरी प्रष्टीकरण दिन्छ होला ? प्रश्न अनेक छन् ।
टिप्पणीहरू