राष्ट्रपति कार्यालयद्वारा रोक्का

राष्ट्रपति कार्यालयद्वारा रोक्का

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको मुहार अंकित हुलाक टिकट छापिएर आएपछि प्रकाशनको पहिलो टाँचा लगाउने कार्यक्रम तय भएर पनि एकाध घण्टाअगावै रोकिएको छ । गत वर्ष जोशीको सम्मानमा राष्ट्र बैंकले एक सय, एक हजार र २५ सय दरको स्मारिका सिक्का निश्कासन गरिसकेको छ । त्यहीताका क्याबिनेटले जोशी र राष्ट्रकवि माधव घिमिरेको नाममा हुलाक टिकटसमेत निकाल्ने निर्णय गरेको थियो ।

भदौ २ गते घिमिरेको निधन भएपछि हुलाक सेवा विभागले जोशीको नाममा १० रूपैयाँ दरको टिकट पाँच लाख थान छापिसकेको स्रोतको दाबी छ । मंसिर ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रकाशनको पहिलो टाँचा लगाउन शीतल निवासमा विशेष कार्यक्रम तय गरेर सीमित व्यक्तिलाई निम्तोसमेत बाँडिएको थियो । सोही दिन बिहान कार्यक्रममा जान तयारी गर्दै गर्दा जोशीलगायतलाई विशेष कारण जनाउँदै स्थगनको सूचना दिइयो ।

पूर्णकला लिम्बू बिष्टको डिजाइनमा डा.सत्यमोहन जोशी लेखिएको हुलाक टिकटमा प्रकाशनको वर्ष सन् २०२० उल्लेख गरिएकाले भोलि बिहीबार पुस १६ गतेभित्र सार्वजनिक गर्नुपर्ने हुलाक टिकटका जानकारहरू बताउँछन् । अन्यथा, महँगो मूल्यमा छापेर ल्याइएको टिकट सार्वजनिक नहुँदा राज्यलाई आर्थिक रूपमा पर्ने घाटाको विषय एकातिर छ भने राज्यका ज्यूँदो साँस्कृतिक धरोहर जोशीप्रतिको सम्मानमा पनि आँच आउने पक्का छ ।

छापिएर आएको टिकट सार्वजनिक नुहुनुको वास्तविक कारण हुलाक सेवा विभागले बताउन नचाहे पनि स्रोतले मानार्थ डा. को उपाधि वा ज्यूँदो व्यक्तिको नाममा टिकट छापिएको सम्बन्धमा शीतल निवासले जिज्ञासा राखेको दाबी गरेको छ । जबकि यसअघि नै उहाँको नाममा चाँदीको सिक्का निश्कासन भइसकेको छ । जोशीले नेपाली कला, संस्कृति र वाङमयको विकासमा पु¥याउनुभएको अतुलनीय योगदानका कारण राष्ट्र बैंकले निश्कासन गर्ने नोट तथा सिक्का डिजाइन कमिटीमा उहाँ कला र संस्कृति विज्ञको रूपमा चार दशकदेखि आबद्ध हुनुहुन्छ ।

जोशीले २०१९ सालमा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर शासन सत्ता हातमा लिएपछि चीनको राजधानी बेइजिङ पुगेर बेइजिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा चिनियाँ विद्यार्थीलाई केही वर्ष नेपाली भाषा अध्यापन गर्नुभएको थियो । बेइजिङ बसाइले उहाँलाई बाह्रौं शताब्दीमा चीन पुगेका नेपाली कलाकार अरनिकोबारे गहिरो अध्ययन गर्ने मौकासमेत जुराइदिएको थियो । नौ वर्षअघि काठमाडौं विश्वविद्यालयले मानार्थ पिएचडीको उपाधि दिएर सम्मानसमेत ग¥यो । तीन पटक त्यो पनि ज्युँदैमा मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व पनि उहाँ नै हुनुहुन्छ ।

टिप्पणीहरू