किन गइरहन्छ बत्ती झ्याप्प-झ्याप्प ?

किन गइरहन्छ बत्ती झ्याप्प-झ्याप्प ?

-साहस न्यौपाने

तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नदोहोरिने निश्चित भएसंगै नेपालमा फेरि लोडसेडिङ हुने हो कि भन्ने आम चिन्ता थियो। हुन पनि लोडसेडिङ अन्त्यको जस घिसिङलाई नै जान्छ। किनभने प्राधिकरणमा उनको प्रवेशसंगै १८ घन्टे लोडसेडिङ अप्रत्यासित रुपमा अन्त्य भएको थियो ।
विद्युतको लोड व्यवस्थापनमा कुशल  देखिएका घिसिङलाई एक कार्यकाल काम गर्न दिनुपर्ने सडकका मान्छेको आवाजलाई बेवास्ता गर्दै सरकारले पाखा लगाएपछि फेरि लोडसेडिङको आतंक शुरु हुने चिन्ता बढेको थियो। नभन्दै तालिका नै बनाएर लोडसेडिङ घोषणा नगरेपनि पछिल्लो समय बिजुली झ्याप्प-झ्याप्प जान थालेको छ। कतै यो लोडसेडिङको पूर्वअभ्यास त होइन ? अहिले आम मान्छेमा त्रास फैलिएको छ ।

गत वर्ष आजैको दिन काठमाडौँमा विद्युत अधिकतम माग ४२४ मेगावाट थियो, यस वर्ष जम्मा ३३६ छ। विद्युतको खपत बढेको छैन बरु घटेको छ। समस्या व्यवस्थापनकै हो।

घिसिङलाई फ्याँक्दै गर्दा उनी प्राधिकरणमा नभए पनि अब कहिल्यै लोडसेडिङ नफर्किने सरकारको दावी थियो। यद्यपि घिसिङको व्यवस्थापकीय क्षमताकै कारण लोडसेडिङ अन्त्य सम्भव भएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन्। अहिले झ्याप्प-झ्याप्प बत्ती जानुको कारण प्राधिकरणको व्यवस्थापकीय कमजोरी नै मुख्य जिम्मेवार रहेको उनीहरुको भनाइ छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, ‘अहिले लोडसेडिङ नै भएको चैं हैन,तर यहाँको व्यवस्थापकीय कमजोरीका कारण बत्ती गैरहने समस्या आएको हो। गत वर्षको भन्दा अहिले माग कम भएपनि व्यवस्थापन मिलाउन नसक्दा समस्या आएको उनको भनाइ छ। उनले थप अगाडि भने, ‘गत वर्ष आजैको दिन काठमाडौँमा विद्युत अधिकतम माग ४२४ मेगावाट थियो, यस वर्ष जम्मा ३३६ छ। विद्युतको खपत बढेको छैन बरु घटेको छ। समस्या व्यवस्थापनकै हो।’

उर्जा क्षेत्रका जानकारहरु पनि गत वर्षभन्दा यसवर्ष माग घटेको बताउँछन् । कोरोना र लकडाउनका कारण विद्युतको माग घटेको उनीहरुको भनाइ छ। ‘पुरानै संरचनाले गत वर्ष त्यत्रो माग धान्ने,यसपाली नधान्ने भन्ने कुरा हुँदैन’,आश्चर्य जनाउँदै एक जानकार भन्छन्, ‘काठमाडौँको मुख्य खपत भनेको होटल क्षेत्रमा हो,तर कोरोनापछि अधिकांश होटल बन्द भएका छन्, त्यसैले विद्युतको माग घटेकै देखिन्छ ।”

प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने कहिलेकाही बत्ती जाँदैमा त्यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताए । उनले भने, ‘हिजो र आज केही समस्या थियो। अहिले सुचारु भैसक्यो। ठूलो समस्या देखिएको छैन ।’ लोडसेडिङ नभनेपनि किन बारम्बार बत्ती जाने समस्या त देखियो नि भनेर प्रश्न राख्दाराख्दै उनले आफू बैठकमा भएकाले पछि कुरा गर्ने भन्दै फोन राखे।

टिप्पणीहरू