मुख्यमन्त्री निलम्बित

मुख्यमन्त्री निलम्बित

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले निम्त्याएको नेकपाको फुट पार्टीका तल्ला कमिटीसम्म देखिन थालेको छ। केन्द्रमा झन्डै दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड र माधव नेपालतिर लागेपछि रक्षात्मक अवस्थामा पुगेको ओली पक्ष प्रदेश र स्थानीय तहमा पनि कमजोर देखिएको छ।

फुटको प्रभाव बाग्मती प्रदेशबाट देखिन शुरु भैसकेको छ। बागमती प्रदेश संसदीय दलका नेता डोरमणि पौडेल बर्खास्तीमा परेका छन्।

नेकपामा आएको फुटले प्रदेश सरकारहरुको भविश्यमाथि प्रश्न उठिरहेका बेला बुधबार पेरिसडाँडामा बसेको नेकपा (बहुमत) प्रदेश संसदीय दलको बैठकले पौडेललाई हटाएर प्रदेश सभा सदस्यसमेत रहेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको हो।

शाक्य तत्कालीन एमाले संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

सातमध्ये छ प्रदेशमा नेकपाको एकल बहुमतको सरकार छ । जसमध्ये पूर्वएमालेको भागमा परेको प्रदेश १, बाग्मती,गण्डकी र प्रदेश ५ का मुख्यमन्त्री ओलीपक्षका हुन्। बाग्मती र प्रदेश १ मा अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ भने अन्य प्रदेशमा पनि यो क्रम जारी छ।

नेकपा (बहुमत) का एक नेताका अनुसार सबै प्रदेशमा सरकार परिवर्तनको आन्तरिक गृहकार्य भैरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले सरकार परिवर्तन नहुने ती नेताले बताए।

संसद विघटन गर्ने ओलीको कदमका विरुद्ध सबै प्रमुख दलहरु सडक आन्दोलनमा आइसकेका छन्। यस्तो अवस्थामा ओलीले चार वटै प्रदेशमा सरकारको नेतृत्व गुमाउने खतरा छ।

टिप्पणीहरू