ठेगानै भएन काँग्रेस कता जान्छ ?

ठेगानै भएन काँग्रेस कता जान्छ ?

सत्तारुढ नेकपामा आएको लगभग विग्रहको अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कुन खेमालाई समातेर अघि बढ्ला भन्ने खुल्दुली बढेको बेला उसका एकजना नेताले ‘आफ्नो पार्टीले तत्काल कुनैपनि बाटो तय नगरेको’ बताएका छन् । उनका अनुसार नेकपाको आधिकारिकता र प्रतिनिधिसभा विघटनको अदालती धारणा आउनुअघि सभापति शेरबहादुर देउवाले कुनैपनि निर्णय नदिने पक्का छ ।

काँग्रेस निकट विश्लेषकहरूका अनुसार नेकपा (बहुमत) सँग मिलेर अघि बढ्नुपर्छ भन्ने एउटा समूह काँग्रेसभित्र त्यत्तिकै सशक्त देखिन्छ । तर,नेकपा (बहुमत) पूरै चिनियाँ लाइनमा हिँडेको भन्दै त्यता कुनै हालतमा जानुहुँदैन भन्ने गरेको देउवा क्याम्प पनि उत्तिकै बलशाली छ । त्यसैले अहिले काँग्रेसको दुबै पक्षले नेकपाको दुबैतिर आवद्धता नजनाउने अवस्था बन्दै गएको हो ।

काँग्रेसको उच्च स्रोतका अनुसार जति बेलासम्म सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णय आउँदैन तबसम्म उसले कसैसँग पनि नजिकको सम्बन्ध नदेखाउने रणनीति बनाएको छ । उसले प्रतिनिधि सभा विघटनको बिरुद्ध गरिएका बिरोध प्रदर्शन र कार्यक्रम पनि नेकपा (बहुमत) सँग संयुक्त रूपमा नगरी आफैैँले एक्लै गर्ने भनेको थियो । त्यहिअनुसार सोमबार सबै निर्वाचन क्षेत्रमा एकैपटक बिरोध प्रदर्शन गरिसकेको छ ।

संघीय सरकार र नेकपाको केन्द्रमा देखिएको विभाजनको असरले प्रदेश सरकारको स्थायित्वमा समेत प्रभाव पार्न थालेकोले काँग्रेसको भूमिका त्यता अझ बढी देखिएको छ । तर,अहिलेको अवस्थामा पनि काँग्रेसले २ नम्बर प्रदेशबाहेक सम्पूर्ण प्रदेश सरकार भंग नहुञ्जेल कुनैपनि धारणा अघि नसार्ने लक्षण देखाएको छ । उसले नेकपाको दुबै पक्षलाई मुख खोलेर काँध थाप्छुसमेत भनेको छैन । स्रोत भन्छ ‘भलै मुलुकमा संकटकाल वा प्रदेशमा राष्ट्रपति शासन नै किन लागू नहोस्,काँग्रेस तत्काल बोल्ने पक्षमा छैन ।’

टिप्पणीहरू