उदय सेठ्ठी समूहका खुंखार अपहरणकारी सोले पक्राउ

उदय सेठ्ठी समूहका खुंखार अपहरणकारी सोले पक्राउ

एक करोड ५० लाख रुपैयाँ फिरौती असुली प्रकरणमा संलग्न सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकी पक्राउ परेका छन् । बाबुराजा रावललाई अपहरण गरी फिरौती असुली गरेर १२ वर्षसम्म फरार रहेका उनलाई प्रहरीले मंगलबार ईलामको पशुपतिनगरबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष टोलीले उदय सेठ्ठी समूहका अपहरणकारी बुढाथोकीलाई पशुपतिनगरस्थित भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाथोकीले आफ्नो नाम ‘प्रकाश क्षेत्री’ राखेर भारतको दार्जिलिङमा ‘प्रकाश स्टोर्स’ नामको कपडाको होलसेल पसल सञ्चालन गरेका थिए । विभिन्न अपराधमा संलग्न बुढाथोकीले २०६५ साल पुस १ गते रावललाई अपहरण गरी बन्धक बनाइ फिरौती रकम लिई भोलिपल्ट राती गाडीमा राखेर टोखा पुर्याइ छाडेका थिए ।

सर्लाहीको ढुंग्रेखोला स्थायी घर भएका बुढाथोकी अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहमा रहेर विभिन्न अपराध गर्दै आएको प्रहरीले जनाएको छ । अपहरण तथा गुण्डागर्दीमा सक्रिय बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर बेपत्ता भएका थिए । यसअघि महानगरीय अपराध महाशाखाको टोलीले २०६६ पुसमा सेठ्ठी र महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

टिप्पणीहरू