प्रधानमन्त्री ओलीका कानूनी कठिनाइ

प्रधानमन्त्री ओलीका कानूनी कठिनाइ

एकाएक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न गहिरिँदो राजनीतिक संकटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ध्यान कानुनी उपचारको लागि सर्वोच्च अदालत पुगेको रिटतर्फ लगाउनुभएको देखिन थालेको छ । पार्टीभित्रका बिरोधीहरूलाई तह लगाउने नाममा  गरिएको हठात् संसद विघटनको विषय अहिले पेचिलो तरिकाले सर्वोच्चमा प्रवेश गरेको छ । चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्ने अनि आफ्नो तर्क र पक्षलाई मजबुत बनाउने अभियानको तयारी गर्नुभएको बताइन्छ ।

उक्त कार्यको लागि बालुवाटारमा बाबुराम दाहाललगायतको एउटा कानुनी सल्लाहकार टिम नै  भित्री रूपमा कार्यरत छ । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालय पनि कानुनी सहयोगको लागि हरबखत सिङ्गै हाजिर छ । त्यसबाहेक पनि निजी क्षेत्रबाट समेत केही कानुनवेत्ताहरू हायर गर्नुपर्ने प्रधानमन्त्रीले महसुस गर्नुभएको हो । त्यसबाहेक केही कर्पोरेट अधिवक्ताहरू,संबैधानिकलगायत केही वरिष्ठ अधिवक्ताहरू,पहिले महान्यायाधिवक्ता भइसकेका व्यक्तित्वहरूलाई समेत व्यक्तिगत रूपमा अप्रोच र अनुरोध गर्नुभएको बताइन्छ । तर,सबैतिरबाट एकमुष्ठ निचोड भने आइसकेको अवस्था चाँहि देखिँदैन ।

प्रधानमन्त्री ओलीले अप्रोच गर्नुभएका वरिष्ठमध्ये सुशील पन्त पनि एकजना हुनुहुन्छ । उहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा महान्यायाधिवक्ता हुनुहुन्थ्यो । कतिपय वरिष्ठहरूसँग अदालतमा गरिने बहस स्वयमसेवा नभई पेशा र कर्म नै भएकाले ‘आवश्यक फी’ को बारेमा कुरा मिलिनसकेको सुन्नमा आएको छ । बालुवाटारबाट अप्रोच भएकामध्ये एकजना वरिष्ठ अधिवक्ता भन्छन् ‘कतिपयले पार्टी आवद्धताको कारण स्वयमसेवीको हिसाबले सहयोग गर्छु भन्नु बेग्लै कुरो हो ।’ तर गैरपार्टी र इतर राजनीतिक विचारधाराकाहरूले आफ्नो श्रम र मेहनतको मूल्य खोज्नु कुनै अचम्म नभएको उनी बताउँछन् ।

नेकपामा देखिएको दरारले चुनाव चिन्ह सूर्य कानुनी हिसाबले कतातर्फ जान्छ भन्ने चर्चा सर्वत्र व्याप्त छ । कुनैपनि एकीकृत पार्टी पाँच वर्षसम्म विभाजन गर्न नपाइने कानुनी प्रावधानका कारण  झिनो आशा देखिएको हालसम्म दुवै खेमामा नलागेका नेता तथा कार्यकर्ताले बताउने गरेका छन् । उक्त आशाको त्यान्द्रो विभाजनको डिलमा पुगिसकेको नेकपाको अवस्थाबाट कतै संसद पुनर्स्थापना भयो भने जुट्न सक्छ कि भन्नेमा हो । तर,त्यो नै अन्तिमचाँहि होइन भनिन्छ । सँगसँगै यसबीचमा चुनाव चिन्हको कुरो र रस्साकस्सीको विषयले पनि प्रमुखता पाएको छ ।

बालुवाटारले बुधबार आयोजना गरेको एउटा भेलामा सुदूर पश्चिमाञ्चल प्रदेशका अध्यक्ष कर्ण थापाले चुनाव चिन्ह ठूलो कुरो होइन भनेर त्यहिँभित्र लबिङ्ग गर्नुुभएको बताइन्छ । ल क्याम्पस पढेदेखि नै प्रधानमन्त्रीको अत्यन्त निकट रहनुभएका थापा झापा ससुराली भएपछि झन् बढी नजिक हुनुभएको हो । अहिले उनै थापाले चुनाव चिन्ह ठूलो कुरो होइन भनेर अरुलाई सम्झाउँदै हिँड्नुभएको हो । थापाको जिकिरमा ‘२०६४ सालको निर्वाचनमा सूर्य चिन्ह भएपनि तत्कालीन एमालेले बहुमत ल्याउन सकेन । तर,पार्टी फुट्दा ०५६ सालमा मालेको तारा चिन्हले मात्रै ६ लाख मत बटुलेको थियो ।’

सूर्य चिन्हको आधिकारिकतामा रुमलिएको बालुवाटार निकटहरूको मानसिक अन्तरद्वन्द्व र  आत्मविश्वास कमजोर हुँदै गएको प्रष्ट भएको विश्लेषकहरूले बताएका छन् । उता,सर्वोच्चले पनि भटाभट हालै परेका रिटमाथि सुनुवाई गर्दैछ । एकल इजलासले समेत कामचलाउ सरकारले गरेको मन्त्रीमण्डल पुनर्गठन र संवैधानिक परिषद्को बैठकले गरेको नियुक्ति बदर माग गर्दै परेको रिटहरूलाई अघि बढाउन आदेश दिएको छ ।

यसले पनि प्रधानमन्त्री ओलीले भनेझैँ सेटिङ्गमा प्रतिनिधि सभा विघटन गरिएको भन्ने भनाईलाई ‘सपोर्ट’ नगरेको उच्च स्रोतको दाबी छ । उता सर्वोच्चमाथि परेको चौतर्फी नजर र दबाबका कारण उसले समेत कानुनी र संवैधानिक इमान छाड्ने या लकपकाउने स्थिति नरहने जनअपेक्षा क्रमशः बढेको छ ।

टिप्पणीहरू