बैंक खाता रोक्न हारगुहार

बैंक खाता रोक्न हारगुहार

प्रधानमन्त्री केपी शर्मा ओली समूहले नेकपाको बैंक सम्पत्तिमा एक्लौटी कायम गर्न खोजेको भन्दै बहुमतपक्ष बैंक खाता रोक्काको निर्णयमा पुगेको छ । विभाजनको औपचारिक घोषणा नहुँदै पार्टीको बैंक खाताको विषयलाई लिएर दुवै पक्षबीच तानातान शुरु भएको हो । पार्टी विभाजनपछि आधिकारिकता दावीको लागि निर्वाचन आयोगसम्म पुगेको नेकपाको विवाद अब खाता रहेका बैंकहरूमा समेत पुगेको छ ।

पार्टीले सञ्चालन गरेका सरकारी नेपाल बैंकलगायतमा रहेका खाताहरू तत्काल रोक्का गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेर बैंकहरूलाई पत्राचार गरेसँगै नयाँ विवाद बाहिर आएको छ । नेकपा (बहुमत) ले निर्वाचन आयोगले निर्णय नगर्दासम्म साविक एमाले तथा नेकपाको बैंक खाता रोक्का गर्न बैंकहरूलाई अनुरोध गरेकाे हाे ।

के अब नेकपा र पूर्व एमालेको नाममा रहेका बैंक खाता रोक्का होलान् ? भन्ने जिज्ञासामा राष्ट्र बैंकका एकजना अधिकारी भन्छन् ‘खाताबन्दी वा रोक्काको आफ्नै प्रक्रिया र नियम छ । खाता खोल्दाको बखत तोकिएका दस्तखतवालाहरूले प्रक्रियासम्मत तवरले गरेको अनुरोध वा अदालतको आदेश र प्रहरी प्रशासन तथा संवैधानिक निकायहरूले रीतपूर्वक गरेको लिखित अनुरोधमा मात्र खाता रोक्का हुने गरेको छ ।’

टिप्पणीहरू