प्रचण्डका घरबेटीले पैसा नतिरेपछि….
नेकपा अध्यक्ष प्रचण्डलाई खुमलटारको घर दिने विवादास्पद ठेकेदार तथा शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीले चढ्दै आएको गाडी मर्मतबापतको रकम नतिरेको भन्दै अटो वर्क्स (ग्यारेज) ले कब्जामा राखेको छ । कलंकी खसीबजारस्थित अभिग्न अटो वर्क्सले अधिकारीको बा. १३ च ७७२७ नं. को टोयोटा कम्पनीको र्याभ फोर गाडी मर्मतबापतको ६ लाख रूपैयाँ नपाएपछि ४ महिनादेखि कब्जा गरेको हो ।
अभिग्नले शैलुङ कन्स्ट्रक्सनको सबैजसो गाडी मर्मत सम्भार गर्दै आएको छ । लकडाउनमा समेत अधिकारीको नामका धेरैजसो गाडी त्यहीँ बनाइएको थियो । यसबीच बनाउन राखिएका पुराना गाडी सबैजसो लगियो । तर, अधिकारी आफैँले चढ्ने र्याभ फोर भने अहिलेसम्म नलगेको र ६ लाख रूपैयाँसमेत तिर्न आनाकानी गरेकाले गाडी रोकेर राखेको अटो वक्र्सको भनाइ छ । चार महिनादेखि पैसा दिन र गाडीबारे बुझ्न अधिकारीको तर्फबाट कोही पनि आएका छैनन् । मल, बाटो, पुललगायत पचासौं करोडका दर्जनौं ठेक्का अलपत्र पारेर हिँडेको आरोप लागेका अधिकारीले चढेको गाडी मर्मतको रकम नतिरेपछि उनको हालत गएगुज्रेको अवस्थामा पुगेको लख काटिएको छ ।
प्राविधिक रूपमा राम्रो कण्डिसनमा रहेको गाडी २००३ मोडलको हो । जापानमा बनेको टोयोटा कम्पनीको सेतो रंगको उक्त गाडी कूटनीतिक प्रयोगका लागि ०६० साउन २५ गते भन्सार सुविधामा झिकाइएको देखिन्छ । अधिकारीको नाममा ०७२ असोज २१ गते नामसारी भएको ब्लु बुकमा प्रस्ट लेखिएको छ ।
टिप्पणीहरू