राजधानी छेउकाले कसलाई रोजे ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थानीय तहसम्म फुटको हिसाब किताब हुन थालेको छ । निर्वाचन आयोगले औपचारिकता दिन समय लाग्ने र सर्वोच्च अदालतले पनि मुद्दा फैसला गर्न समय लाउने भएपछि दुवै समूहले संगठनमा आफ्नो वर्चस्व कायम गर्ने गरी कमिटी बैठक र भेला गर्दै छन् । ललितपुर जिल्लामा ओली समूहले गोदावरी नगरपालिकामा केन्द्र बनाएर क्षेत्र नं. १ को भेला गरेको छ भने माधव–प्रचण्ड समूहले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिकामा भेला गरिसकेको छ । यस्तै बागमती, महांकाल, कोन्ज्योसोममा पनि भेलाको मिति तोकेको बुझिएको छ ।
ललितपुरको नेतृत्वमा भने साविक नेकपा एमाले ओली समूहका नेता बढी देखिएका छन् । कार्यकर्ता भेलामा देखिएको जमातले ओली–प्रचण्ड समूहको उपस्थिति धेरै देखिए पनि साविक एमालेका धेरै नेता निष्क्रिय बस्ने संकेत गरेका छन् । उत्साह छैन भन्दै अनुपस्थित नेताहरूले पनि संसद् विघटन गर्ने ओली कदमको मात्रै विरोधमा भएको संकेत गरेका छन् ।
जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार ओली समूहमा लागेका छन् भने ७ सदस्यीय कार्यालयका ६ जना प्रचण्ड–माधव समूहमा देखिएका छन् । पूर्वएमालेतर्फका श्यामकृष्ण सिलवाल, हरिकृष्ण थापा, कृष्णमान लामा, पूर्वमाओवादीतर्फका सचिव राजकाजी महर्जन र कार्यालय सदस्य न्हुच्छे महर्जन र सरोज सिंह नेपाल–प्रचण्ड समूहमा छन् ।
साविक महानगर कमिटीको अध्यक्ष मञ्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य ओली समूहमा छन् । महालक्ष्मी नगरपालिकाको अध्यक्ष तोकिएका तर विरोधका कारण शपथग्रहणसमेत गर्न नपाएका अध्यक्ष हरिगोविन्द श्रेष्ठ ओली समूहमा छन् । यस्तै गोदावरी नगर कमिटीका संयोजक ब्रह्मानन्द श्रेष्ठ ओली समूहमा छन् भने सचिव भाग्यराम महर्जन नेपाल–प्रचण्ड समूहमा छन् । कोन्ज्योसोम नगर कमिटीका अध्यक्ष महेश लामा नेपाल–प्रचण्ड समूहमा छन् भने सचिव कृष्ण सापकोटा ओली समूहमा छन् । महांकाल गाउँपालिका कमिटीका अध्यक्ष अमृत तिम्सिनाले ओलीको कदम गलत भएको बताएका छन् भने आन्दोलनको लक्ष्य शैली र एजेन्डा स्पष्ट नभएसम्म आन्दोलनमा नजाने बताएका छन् । महांकाल गाउँपालिकाका सचिव माधव दुलाल नेपाल–प्रचण्ड समूहमा भएको बताइएको छ । यस्तै, बागमतीका अध्यक्ष भक्तबहादुर दर्लामी मगर नेपाल–प्रचण्ड समूहमा र सचिव साजन दर्लामी ओली समूहमा छन् । १५५ सदस्यीय जिल्ला कमिटीका ११५ जना प्रचण्ड–नेपाल समूहमा रहेको र ३८ जना ओली समूहमा रहेको एक कार्यालय सदस्यले बताए ।
सिङ्तान प्रचण्ड नेपाल समूहमा छन्
जनप्रतिनिधिमध्ये महांकालका अध्यक्ष रामचन्द्र दाहाल ओली पक्षको भेलामा सहभागी भएका छन् भने नेपाल–प्रचण्ड समूहसँग पनि संवादमा रहेको बताइएको छ । महालक्ष्मी नगर प्रमुख रामेश्वर श्रेष्ठ, कोन्ज्योसोमका अध्यक्ष, उपाध्यक्ष गोपी सिङ्तान र मिङ्मा सिङ्तान प्रचण्ड नेपाल समूहमा छन् ।
ओली कदमको विरोध गरेको भए पनि केही जिल्ला नेताले अर्को भेलामा सहभागी नहुने बताएका छन् ।
टिप्पणीहरू