सेनापतिलाई दिनदिनै बालुवाटारमा सामेली
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधान सेनापतिलाई पहिलेको तुलनामा झनबढी बालुवाटार बोलाउने गरिएको छ । त्यसअघि यदाकदा संक्षिप्त र सेड्युलको भेटघाट मात्र हुने गर्थ्यो । तर, अघिल्लो आइतबारपछि बालुवाटारबाट बाक्लै बोलावट आउने गरेको बताइन्छ ।
अघिल्लोचोटि वैशाखमा आफूमाथि संकट पर्दा पनि ओलीले प्रधानन्यायाधीश, अख्तियार प्रमुख र सेनापतिलाई रातारात बालुवाटार बोलाएर विपक्षीविरुद्ध मनोवैज्ञानिक युद्ध छेड्नुभएको थियो । अहिले त झन् ईश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयमै थन्क्याएर रक्षा मन्त्रालय आफैँसँग राखिएको अवस्था छ । माओवादीको साथ छाडेर आएकाहरूलाई पदमिलान गर्न त्यो मन्त्रालय पनि यौटा ठाउँ त हो तर पुस १० गते शुक्रबार राति ०७४ पछि गरिएको एघारौं पटकको क्याबिनेट हेरफेरमा समेत रक्षा आफैँसँग राखेर प्रधानमन्त्रीले आगामी परिस्थितिको निम्ति विशेष सन्देश दिन खोज्नुभएको प्रस्ट छ ।
प्रधानमन्त्री कार्यालयबाट अरू सुरक्षा निकायका प्रमुखलाई झैं प्रधानसेनापतिलाई पनि निर्वाचन तयारीको नाममा दिनहुँजसो बोलाइएको सैन्य स्रोतले समेत पुष्टि गरेको छ । तर, दिनदिनै प्रधानमन्त्री र प्रधानसेनापतिबीच के विषयमा कुरा हुने गर्छ भन्नेचाहिँ खुलाइएको छैन । बालुवाटारको खबर आउने गरेपछि सेनापतिले आफ्नै लिगल डिभिजन (प्राड बिबाक) का प्रमुख रत्नप्रकाश थापासँग बाक्लै सल्लाह गर्न थाल्नुभएको बताइन्छ । तर, त्यस क्रममा पनि सरकार प्रमुखसँग भएको भेटघाटको विषयलाई भने गोप्य नै राख्ने गरिएको छ ।
सर्वोच्च अदालतमा परेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको विषयलाई समेत सैनिक अधिकारीहरूले आफ्नै च्यानलमा हुने अनौपचारिक छलफलमा साइड गफको माध्यम बनाउने गरेका छन् ।
यसैबीच, मानबहादुर महरा र किरण केसी महासेनानीबाट ब्रिगेडियर (रथी) बनेका छन् । उनीहरू दुवै जना एनडिसी कोर्स गर्दै गरेको अवस्थामा पाकिस्तानबाट हालै छुट्टीमा आउँदा शुक्रवार फुली लगाइदिइएको हो । महराको नेतृत्वमा काठमाडौं– हेटौंडा द्रुतमार्ग (फास्ट ट्र्याक) को अनियमितता छानबिन गर्न कमिटी बनाइएको थियो । उनले दिएको रिपोर्टमा कारबाहीको सिफारिससमेत गरिएको छ ।
टिप्पणीहरू