दुःखी चेली जसले महारानी बन्न पाइनन्
उतिबेला ‘बडामहारानी’ बन्न नसकेकी, तर यतिबेला सिपाहीहरूले आदरार्थी संबोधन गर्ने ‘रानीसाहेब’ भएर अरु कसैको दिलमा राज गरिसकेकी महिलासँग जोडिने दुखान्तले अर्को रहस्य पनि खोलेको छ ।
०५८ जेठ १९ को दरबार हत्याकाण्डको चर्चा हुँदा बारम्बार नाम आइरहने सुप्रिया शाह दुई तारे जर्नेल विनयविक्रम राणाकी पत्नीको रुपमा अहिले पोखरा घुमफिरमा छिन् । पति पश्चिम पृतना हेडक्वार्टरमा कमाण्डर छन् । उनको नयाँ सम्बन्धसँगै दरबार हत्याकाण्डको खुलासा नभएको पाटोबारे उनकै विवाहमा नातेदारबीच चर्चा चल्यो । हत्याकाण्डका कारक मानिने तत्कालिन युवराज दीपेन्द्रलाई पत्नी भिœयाउने विषयको मात्र तनाव थिएन । वास्तवमा उनको टाउको दुख्ने कारण थियो, युवराज पदवी खोसिने । विवाहका लागि आमाहरूको दबाब एउटीमाथि, तर आफैँले रोजेकी अर्की ल्याउने जिद्दीले मात्रै त्यो घटना नगराएको नातेदारहरूले भनिरहेका थिए । भर्खरै जर्नेल राणासँग विवाह बन्धनमा बाँधिएकी सुप्रियासँग विवाह गर्न आमा तथा बडामहारानी ऐश्वर्यले चाहेको र दीपेन्द्रले अष्ट्रेलियासमेत घुमाएर ल्याएकी देवयानीका लागि जिद्दी गरेको भन्ने चर्चा शुरुदेखि नै चलेको हो । तर, त्योभन्दा पनि गम्भीर पाटो अर्को रहेछ ।
यदि जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश नभएको भए ६ दिनपछि, अर्थात् २४ गते नारायणहिटीमा धुमधामका साथ एउटा मगनीको रौनक आउँदै थियो । दीपेन्द्रका भाइ अधिराजकुमार निराजनको त्यसदिन टीकोटालोको कार्यक्रम तय भएको थियो । धोविचौर बस्ने भूपूजर्नेल मदनविक्रम राणाका छोरा किशोरकी छोरीसँग उनको विवाह टुंगिएको थियो । एकातिर दीपेन्द्रले आमाको दबाब नमानिरहेको अर्कातिर, आफूभन्दा पहिल्यै भाइको विवाह, त्यो पनि आमाको माइतीखलकसँग निकट राणा परिवारमा हुने ! पहिला भाइको विवाह गरेर आफ्नो ‘युवराज’ पदवी खोसिदिने र भावी राजाका रुपमा भाइलाई अगाडि सार्ने आमाको योजना उनले बुझेका थिए । शायद, तनावको यो पाटोले उनलाई त्यसदिन सबभन्दा बढी उत्तेजित पारेको थियो । छानवीन प्रतिवेदनअनुसार, घटनास्थल बिलियार्ड हलमा बाबु तथा राजा वीरेन्द्रलाई गोली हानेपछि रानी ऐश्वर्य त्यहाँबाट उनलाई लखेट्दै थिइन् । तर, दीपेन्द्रले पछ्याई–पछ्याई बाहिरपट्टी पुगी आफ्नो शयन कक्षको भ¥याङमा बंगारा छरपस्ट हुनेगरी कैयन गोली दागेर आमालाई मारेका थिए । शायद, उनले बाबु, भाइ र बहिनीभन्दा पहिल्यै आमालाई ताकेका थिए । तर, निशाना सफल भएको थिएन । सुप्रिया र देवयानी रोज्ने तनावभन्दा ठूलो थियो, यो तनाव ।
‘शाह’ खान्दानकै चेली सुप्रियासँग वैवाहिक सम्बन्ध राख्ने पारिवारिक दबाबलाई अस्वीकार गरेका दीपेन्द्रले उनीमाथि शारीरिक तथा मानसिक शोषण गरेको शाही नातेदारहरू बताउँछन् ।
हाडनातामै बबाल
उनी सेन्ट मेरिज स्कुलमा दीपेन्द्रकी बहिनी तथा अधिराजकुमारी श्रृतिसँगै पढ्थिन् । स्कुलपछि सुप्रियाले सैनिक महाविद्यालय भक्तपुरमा पढिन् । त्यही बेलादेखि दीपेन्द्रको खुल्लमखुल्ला अफेयर शुरु भयो । जबकि, सुप्रिया र दीपेन्द्रका हजुरआमाहरू साख्ये दिदीबहिनी हुन् । जेठी पत्नी इन्द्रराज्यलक्ष्मीको निधनपछि उनकी बहिनी रत्नराज्यलक्ष्मीसँग राजा महेन्द्रले विवाह गरे । तर, वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र गरी महेन्द्रबाट जन्मिएका तीन छोरा र तीन छोरीकी आमाचाहिँ इन्द्रराज्यलक्ष्मी हुन् । इन्द्र र रत्न जस्ता दिदीबहिनी हुन्, त्यस्तै अर्की बहिनी हुन्, सुप्रियाकी हजुरआमा । यत्तिको सम्बन्धलाई नेपालको पुरातन सामाजिक मान्यतामा ‘हाडनाता’ भन्ने गरिन्छ ।
दीपेन्द्रबाट सुप्रियाले धोका पाइन् । गर्नुसम्म प्रयोग गरेर दीपेन्द्रको मन बद्लियो, धनी र भारतीय राजनीतिमा समेत प्रतिष्ठित परिवारकी छोरीतिर । उनी हुन्, राप्रपा नेता पशुतिसमशेरकी छोरी देवयानी । मावली हो, भारतको ग्वालियर । भारतीय राजनीतिज्ञ माधवराजे सिन्धिया उनका मामा हुन् । दीपेन्द्रको यो रोजाईलाई मावलीखलकका राणा परिवार र पशुपतिसमशेरको हजुरबा खलकबीचको पुस्तौनी प्रतिशोधसँग पनि जोडेर हेरियो । त्यसमाथि अथाहा सम्पत्ति भएको घरकी एक्ली छोरी, त्यसबेलाको भारतीय राजनीतिमा निर्णायक भूमिका खेल्नसक्ने मावलीखलककी देवयानीलाई भित्र्यायो भने सम्पत्तिदेखि शासनशक्तिसम्ममा हस्तक्षेप गर्ने भयमा थिइन् रानी ऐश्वर्य ।
दाजुबाट कन्यादान
मंसिरको २४, २५ र २६ गते काठमाडौंको होटल शंकरमा आयोजित विवाह समारोहमा कन्यादानका लागि सुप्रियाका बाबु–आमा उपस्थित हुन समर्थ भएनन् । अभिभावकलाई कोरोना संक्रमण भएका कारण उनीहरू त्यहाँ नपुगेको पारिवारिकस्रोतले जनाएको छ । त्यसपछि दाजु–भाउज्यूले कन्यादान गरे । भाउजू हुन्, कामिनी चन्द । पञ्चायतकालीन मन्त्री दमनबहादुर चन्द (बर्दिया) की भतिजी ।
दरबार हत्याकाण्डपछि सुप्रिया मुमाबडामहारानी रत्नको उपसचिवका रुपमा जागिर खान थालिन् । रत्नसमशेर उनकी ‘ठूली हजुरआमा’, अर्थात् आफ्नै मावली हजुरआमाकी दिदी हुन् । त्यो जागिरमा तीन–चार वर्ष काम गरेपछि राजतन्त्र ढल्यो, गणतन्त्र बहाली भयो । त्यसपछि अमेरिका गएकी सुप्रियाले उतै ग्रीनकार्ड पनि लिइन् । अहिले त्यो कार्ड उतै छोडेर आएकी छन् ।
दोस्री पत्नी
जीवनको ४७ बसन्त अविवाहिताका रुपमा बिताएकी सुप्रियाले ४८ वर्ष टेक्नै लाग्दा आफूभन्दा ६–७ वर्षले जेठा जर्नेलको दोस्री पत्नी हुने मौका पाएकी छन् । पति विनयविक्रमको जेठी पत्नीसँग किचलोपछि सम्बन्ध बिच्छेद भएको थियो । विनय २०२३ सालका हुन् भने सुप्रिया २०३० की । यो विवाहसँगै ज्ञानेश्वर माइत भएकी सुप्रियाको पैत्रिक सम्पत्ति विनयले सम्हाल्नुपर्ने भएको छ । त्यसमाथि विनय आफैँ पनि घरका एक्ला छोरा हुन्, सम्पत्ति पनि राम्रै भएको परिवार ।
टिप्पणीहरू