चौध बर्ष कटाउने ग्लोबलको चर्तिकला
– द्रव्य शाह
मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले ‘माइक्रो म्यानेजमेण्ट’ गर्यो भन्ने आरोपको खण्डन गर्दै आफ्नो नीतिमा कुनै परिवर्तन नभएको बताएका छन् । उनले राष्ट्र बैंकको नीतिमा कुनै विचलन नआएको र ‘सो कल्ड माइक्रोम्यानेजमेण्ट’ को पक्षमा आफू नरहेको पनि बताएका हुन् ।
त्यसबखत गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरका बारेमा समेत टिप्पणी गर्दै ‘राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेको तर,कोभिडका कारण त्यसतर्फ ध्यान केन्द्रित गर्न नसकेको’ बताएका थिए । मर्जरको विषय सीइओहरुभन्दा पनि लगानीकर्ताहरुकोमा बढी ठोक्किने बताउँदै अधिकारीले उनीहरुको मर्जरप्रति चाख भए आफू त्यसमा सघाउन तयार रहेको समेत बताएका थिए ।
तर,अघिल्लो वर्षको साउनमा जारी मौद्रिक नीतिमा गरिएको मर्जरसम्बन्धी व्यवस्थामा कुनै तात्विक फेरबदल नभएको अवस्थामा आफू मातहतका २७ वटा वाणिज्य बैंकमध्ये एउटाले मनमौजी तवरले काम गर्दा केन्द्रीय बैंकले देखाएको मौनता भने बुझिनसक्नु छ । त्यसको गतिलो उदाहरण ग्लोबल बैंकले नियम र निर्देशनविपरित नियुक्त गरेका सीईओ रत्नराज बज्राचार्य पुनः बैंकरहरुबीच चर्चाको विषय बन्न थालेका छन् ।
गत साउनमा जारी चालु वर्षको मौद्रिक नीतिले अघिल्लो वर्षको नीतिमा रहेर मर्जर गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई लागू हुने गरी नयाँ व्यवस्था नगरिएकै अवस्थामा ग्लोबल बैंकले ६५ वर्ष उमेर नाघेका चार्टर्ड एकाउण्टेण्ट तथा बैंकर रत्नराज बज्राचार्यलाई भदौ १ गतेदेखि सीईओमा नियुक्त गरेको हो ।
तर,राष्ट्र बैंकले पाँच महिनासम्म उक्त गलत कार्यलाई स्वीकार मात्र गरेको छैन,ग्लोबलले पठाएको जानकारी र बोधार्थ पत्रसमेत बिरालोले बिष्टा लुकाएझैँ दम्पच बनाएर राखेको छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले कागलाई पनि छकाउने वाणिज्य बैंकहरुमाथि कस्तो ‘माइक्रो म्यानेजमेण्ट’ गर्यो भनेर विश्वास गर्ने ? बरु,आफैँले जारी गरेको नीति र निर्देशनको पालना बैंकहरुले गरे वा नगरेको सम्बन्धमा ‘फलोअप’ मात्र गरे पुग्थ्यो । राष्ट्र बैंक नेतृत्वको आँट र जनताप्रति जिम्मेवार भएमा ग्लोबल बैंक र उसका सीइओलाई सो सम्बन्धमा कारबाही नगरी काखी च्याप्नुको रहस्य बताउन पर्छ कि पर्दैन ?
गत वर्ष जारी मौद्रिक नीति र एकीकृत निर्देशनमा वाणिज्य बैंकमा कार्यरत सीईओको उमेर ६९ वर्ष नाघ्न नहुने र ६५ वर्षभन्दा माथिकाले नियुक्तिसमेत लिन नपाइने उल्लेख छ । केही वर्षअघि उनी सोही बैंकमा चार वर्ष सीईओ भएर काम गरेका थिए । राष्ट्र बैंकले गत साउन १२ गते जारी गरेको एकीकृत निर्देशनलाई गलत व्याख्या गरेर बज्राचार्यलाई ग्लोबलको सीईओ बनाइएको हो । तरपनि राष्ट्र बैंक र स्वयम् गभर्नर अधिकारीले यति गम्भीर विषयलाई मौन समर्थन गरेर औपचारिक फोरमहरुमा डिँग पिट्नुको के अर्थ हुन्छ ?
गत साउनको पहिलो साता टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरेर गभर्नर आफैँले जारी गरेको मौद्रिक नीतिबमोजिम नियमन विभागको एकीकृत निर्देशन २०७६ को इ.प्रा. निर्देशन नं.६÷०७६ को बुँदा नं. ४ को उप बुँदा (२) मा साउन १२ गते गरिएको संशोधनमा भनिएको छ ‘…तर २०७८ असार मसान्तभित्र गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू एकापसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त हुन बाधा पर्ने छैन ।’
उक्त व्यवस्थाले ६५ वर्ष उमेर नाघेका रत्नराज ग्लोबल बैंकको मात्र होइन कुनैपनि बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न कुनै हालतमा योग्य देखिँदैनन् । यसअघि ग्लोबल र जनता बैंक २०७६ मंसिर २० गतेको एकीकृत कारोबारपछि औपचारिक रूपमा मर्ज भएका हुन् । गत वर्षको मौद्रिक नीति र सोबमोजिमको एकीकृत निर्देशनमा उल्लेख भएका मर्जरसम्बन्धी व्यवस्था गत असार मसान्तसम्म मात्रै ग्लोबल बैंकको हकमा लागू हुन्छ । यसपटकको मर्जरसम्बन्धी व्यवस्था चालु आर्थिक वर्ष मर्ज हुने बैंकहरूको हकमा मात्र लागू हुने हो । चालु आर्थिक वर्षको छ महिना व्यतित भइसकेकोले गत भदौमा बज्राचार्यलाई नियुक्त गर्न ग्लोबल बैंकलाई कसले अनुमति दियो ? अनि कुन नियमभित्र रहेर गरियो ? आफूलाई ‘माइक्रोम्यानेजमेण्ट’
पछिल्लो निर्देशनले गत साउन १ गतेदेखि आगामी असार मसान्तसम्म एकापसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने बैंकहरूको हकमा मात्र ६५ वर्ष नाघेका कुनैपनि व्यक्ति एकपटकको लागि प्रमुख कार्यकारी अधिकृत बन्न पाउने भनिएको हो । साउन महिनाभित्र ग्लोबलसँग कुनैपनि बैंक तथा वित्तीय संस्था मर्ज नभएकाले त्यो सुविधा पनि भदौमा नियुक्त बृद्ध बज्राचार्यको हकमा कुनै हालतमा आकर्षित हुँदैन । यति एउटा विषयमा आफ्नो नीति र निर्देशन पल्टाएर ‘म्यानेजमेण्ट’ नगर्ने केन्द्रीय बैंकले ठूला गफ हाँक्नुको कुनै अर्थ हुँदैन भनिन्छ।
टिप्पणीहरू