ओलीद्वारा झापाली पुरस्कृत

ओलीद्वारा झापाली पुरस्कृत

गोपाल खनाल सञ्चारकर्मीको रूपमा सुपरिचित नाम हो । झापा घर भएका खनाल कान्तिपुरका पूर्व दिल्ली ब्यूरो चिफसमेत हुन् । दुई वर्षअघि टिकाराम राईहरूलाई नियुक्ति दिइएकै समय पारेर उनलाई सरकारी मुखपत्र गोरखापत्रको समाचार सम्पादक सल्लाहकार नियुक्त गरिएको थियो । प्रधानमन्त्री केपी ओलीको क्याबिनेटले हालै गरेको निर्णयबमोजिम फेरि दुई वर्षका लागि खनालको सोही जिम्मेवारीलाई नवीकरण गरिएको छ ।

योसँगै प्रधानमन्त्री ओलीसँग अरु नेताहरूले सिक्नुपर्ने र सिक्न लायकको सन्देशचाँहि आफ्नो पक्षमा फलामे किल्लाझैँ चट्टानी अडान राखेर उभिने जो कोहिलाई हरतरहले कसरी संरक्षण गर्नुपर्छ भन्ने हो । राजनीति गर्नेले त्यो गर्नैपर्ने र ओलीको सबैभन्दा राम्रो विशेषता समेत त्यहि रहेको नेकपा बालुवाटार निकटस्थहरूले समेत स्वीकारेका छन् ।

निवर्तमान माननीय निरु पालसँग जोडिएको बानेश्वर काण्डको रूपमा परिचित नक्कली पेस्तोल काण्ड अझैपनि सेलाएको छैन । तीलगायत अन्य धेरै कुरा छन् । परशुराम बस्नेत,पिताम्बर तिमिल्सिना,कर्ण थापा केही नमूना मात्रै हुन् जसको सामाजिक पृष्ठभूमि र जसलाई प्राप्त संरक्षणवारे दुनियाँ राम्रै जानकार छ । तिनै गोपाल खनाललाई प्रधानमन्त्रीले एमसीसीको नेपाल प्रतिनिधि कार्यालय एमसीए (मिलेनियम च्यालेन्ज एजेन्सी) को सात सदस्यीय सञ्चालक समितिमा बोर्ड मेम्बर समेत बनाइदिनुभएको छ । यो पनि भर्खरकै कुरो हो ।

प्रधानमन्त्रीका ‘डाई हार्ड’ समर्थकमध्ये अधिकांशले एउटा र कसै कसैले दुईवटा अवसरसमेत सँगसँगै पाउन थालेका छन् । हुन तः गोपाल आफैँमा सक्षम पात्र हुन् । विदेश मामिलामा राम्रै दख्खल राख्ने उनका लेख रचनाबाट पनि भेउ पाउन सकिन्छ । यो भनेको नियुक्तिमा केपी ओलीले आफू नजिककालाई कतिसम्म मायाँ गर्नुहुन्छ भन्ने कुरोको एउटा सानो तर महत्वपूर्ण उदाहरण मात्र हो ।

टिप्पणीहरू