यो संवैधानिक भन्दा पनि राजनैतिक कदम हो-गृहमन्त्री बादल
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन राजनीतिक “कू” लाई रोक्न गर्नुपरेको बताएका छन् । आज काठमाडौंको प्रज्ञा भवनमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले त्यसको औचित्य सकिएको बताए । “संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दा पनि ठूलो राजनीतिक कदम हो”,उनले भने । उनका अनुसार ‘नेकपाको दुई तिहाईको मत भएकोले स्थिरताको संयन्त्रको रुपमा थियो तर यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोजेको हुँदा यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुभएको हो । यो ठूलो राजनीतिक कदम हो । एउटा संवैधानिक कदम भन्दा पनि ठूलो राजनीतिक कदम हो । यो अग्रगामी कदम हो कि प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो । त्यो प्रतिगमनलाई यसले रोक्यो । भविश्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्ने छ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ ।’
कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहट्ने दुस्साहस गर्नेहरुको कारण अहिलेको स्थितिमा आइपुग्नुपरेको बताए । पार्टी एकता गर्नु अघिदेखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुको कारण नै पार्टी विभाजन हुन पुगेको उनको भनाइ थियोे । अवसरवादको लागि अलिकति पनि लज्जाबोध नगर्ने चरित्रको नग्न उत्कर्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको र कुण्ठै कुण्ठाको भारी बोकेर हल न चल भएको अवस्थामा पुग्नुभएको माधव नेपालको कारणले नै अहिलेको दुर्भाग्यको अवस्था आएको पोख्रेलको ठोकुवा थियो ।
टिप्पणीहरू