सपना देख्न पाइन्छ, स्रोत पहिले चाहिन्छ
– पुरुषोत्तम पौडेल
नेपाल भूपरिवेष्टित देश हो । यहाँ पानीजहाज चल्ने खालको कुनै ठूलो नदी छैन । रेलजस्तो गुडाएर पानीजहाज ल्याउनु कुनै चानचुने कुरा पनि होइन । तर पनि प्रधानमन्त्री ओलीले देशमा सजिलै पानीजहाज ल्याउने सपना बाँड्नुभयो । जनताले आशाको नजरले हेरे । ३ वर्ष बितिसक्दा पनि पानीजहाज ल्याउनेबारे अध्ययनसमेत भएन । स्वयं प्रधानमन्त्रीबाट उद्घाटित पानीजहाज कार्यालयसमेत बिलाउँदै गयो ।
नेकपाको चुनाव घोषणापत्रले प्रमुख शहरमा बिजुली बस चलाउने कुरा गरेको थियो । डिजेल–पेट्रोल आयात गर्नुपर्दा प्रदूषणको शिकार बनेको देशमा बिजुली बसले राहत दिने आशा थियो । केपी ओली प्रधानमन्त्री हुनेबित्तिकै देशभरि बिजुली बस चलाउने चर्चा चल्यो । कताबाट लुम्बीनी क्षेत्रमा चलाउन ल्याइएका पाँच वटा बिजुली बस काठमाडौं लगेर तामझामसहित उद्घाटन पनि गरियो । नयाँ बिजुली बस ल्याएर चलाउनु त कता–कता तिनै टालटुले बस पनि कता हराए ।
नेपालमा हावाबाट बिजुली निकाल्ने कुरा हावाजस्तै लाग्थ्यो । मान्छेहरू हावा कुरा भनेर उडाउँथे । प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने कुरालाई हावा दिनुभयो । आफ्ना प्रत्येक भाषणको अंग बनाए । हावाबाट बिजुली निकाल्ने विषयले खुब प्रचार पायो । ओलीजी प्रधानमन्त्री भएपछि पाँचथर हो कि कता गएर एउटा बिजुली पंखा घुमाउनुभयो । त्यसपछि कुनै काम अगाडि बढेन । त्यही सानो पंखाले हावा खायो । हावाबाट बिजुली उत्पादन गर्ने कार्यक्रम त्यत्तिकै उड्यो । अहिले त कुरै हरायो ।
केपी ओलीले चुनावताका एमालेको सरकार बनाउनुस् । दुई वर्षमा घरघरमा ग्यासको पाइप पु¥याइने भाषण गर्नुभयो । जनताले काँधमा सिलिन्डर बोकेर हिँड्ने दिन गयो भन्नुभयो । प्रधानमन्त्री भएपछि विराटनगरमा एउटा गोबरग्यास प्लान्टबाट वितरण गरिएको पाइपलाइनको भव्य उद्घाटन गरियो । दैलेखमा भएको ग्यासलाई प्रशोधन गरेर वितरण गर्ने प्रसंग छेडियो । अहिले प्रधानमन्त्रीले उद्घाटन गरेको गोबरग्यास प्लान्ट बन्द भयो । ग्यास प्रशोधन र उत्पादन कुरामै बिलायो । दुवैले उहाँलाई व्यंग्य गरिरहेको छ ।
नवलपरासी र दैलेखमा खानी छ । अब देशमै पेट्रोल खानी चलाउने हो । पेट्रोलियममा देशलाई आत्मनिर्भर बनाउँदै लाने हो भनेर चीनबाट वैज्ञानिक झिकाइयो । परासी र दैलेख भ्रमणको कुरासमेत गरियो । आजकल देशमा पेट्रोलियम खानीको त कुरै नगरौँ । पेट्रोलियम खोज्ने कुरासमेत कता लुकिरहेको छ कुन्नि ? अरू त अरू अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियमको पाइप लाइन बनाउने कामसमेत स्थगित छ ।
रेल नेपालमा राणाकालमै चलेको हो । हामीले जनकपुर–जयनगर रेल चढेर हिँड्ने अवसरसमेत पाएका हौँ । रक्सोल–वीरगञ्ज–अमलेखगञ्ज रेलको अवशेष अहिलेसम्म देख्न पाइन्छ । फेरि पनि नेकपाले आफ्नो चुनाव घोषणापत्रमा पूर्वपश्चिम रेल चलाउने कुरा अघि सा¥यो । प्रधानमन्त्री ओलीले केरूङबाट काठमाडौं रेल आउने र उक्त रेल पोखरा हुँदै बेनी बजार र कुश्मासमेत पुग्ने भाषण ठोक्नुभयो । दुर्भाग्य ! काम सकिएको एक वर्ष पार हँुदा पनि जनकपुर–जयनगर कुर्था रेल चल्न सकिरहेको छैन । इञ्जिन आएको ३÷४ महिना भइसक्यो । इञ्जिन जाम हुन लाग्यो होला ।
१२ वर्षपहिलेदेखि शुरु भएको मेलम्ची जहाँको त्यहीँ छ । प्रत्येक दसैँमा मेलम्चीको पानी खाने, आस गरेका काठमाडौंवासीलाई ओली सरकारले निरास बनायो । ०६७ सालमा शुरु भएको अपर तामाकोशी अझै पूरा हुन सकेको छैन । पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल पनि पूरा हुन सकेन । हुलाकी सडक बीचैमा अड्केर बसेका छन् । विकास निर्माणका नयाँ काम त कता हराए कता । नेपाली जनता सरकारको प्रगति खोजिरहेका छन् । साइबर सेनाले प्रचार गरेको सयभन्दा बढी विकासे बँुदा कताबाट आएका हुन् ? जनता जान्न चाहन्छन् ।
पत्रकारसँग सरकार बनेको दुई वर्षपछि देशमा चमत्कार हुन्छ भन्ने प्रधानमन्त्री ३ वर्ष पूरा गरेपछि मलाई कामै गर्न दिइएन भन्दै हुनुहुन्छ । देशमा अब कसैले भोकै मर्नु पर्दैन भनेर सबैको जिम्मा लिने प्रधानमन्त्री आज कोरोनाका कारण खान नपाएकाहरूलाई अरूले संरक्षण गरेको हेर्न बाध्य हुनुभएको छ । देशका युवाले रोजगारीका लागि विदेश जानु पर्दैन । नेपालमै रोजगारी दिइन्छ भन्ने प्रधानमन्त्री भाषणमा मात्र सीमित हुनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण र कृषि विकासका कुरा गर्नुभयो तर आज किसानहरूको कन्तबिजोक छ । सरकारले उखु किसानको पीडामा मलम लगाउन सकिरहेको छैन ।
खासमा प्रधानमन्त्री केपी ओली सरकारको ३ वर्ष आफ्नो हातमा शक्ति केन्द्रित गर्नमा मग्न हुनुभयो । पार्टीलाई पनि निजी इच्छाबमोजिम चलाउन केन्द्रित हुनुभयो । विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर गरेको सहमति बिर्सनुभयो । आफ्नो हितमा निर्णय गराउन मात्र पार्टीको बैठक गर्न तयार हुने, अन्यथा पार्टीलाई नै निष्क्रिय बनाउनतिर लाग्ने । पार्टी एकता प्रक्रियालाई मोलतोलमा राखेर झुलाइरहने ।
आफ्नो कमजोरी र असफलता लुकाउन अनेक अध्यादेश ल्याएर आलोचकहरूलाई धम्क्याउने । कुनै उपाय काम नलागेपछि आफैँलाई प्रधानमन्त्री बनाउने संसद् विघटन गरेर अरूलाई दोष थोपर्ने काम गर्दै हुनुहुन्छ । ओलीको दम्भसहितको यो कदम राजा महेन्द्रको २०१७ साले संसद् विघटन, शेरबहादुर देउवाको ०५८ सालको संसद् विघटनजस्तै घोर प्रतिगामी कदम हो । यसले नेकपाजस्तो जनताको ठूलो प्रयासले बनेको पार्टीलाई क्षणभरमा विभाजित गरेर देश र सम्पूर्ण जनतालाई पीडित बनाएको छ । यसलाई सच्याएर मात्र मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिन्छ । सबैलाई चेतना भया !
टिप्पणीहरू