शेरधनका शौख र ओलीका उतारचढाव
प्रदेश १ को सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अनुमान गर्न सकिन्छ कि अब शेरधन राईले मुख्यमन्त्रीको कार्यालय खाली गर्नुपर्ने छ । बाग्मती प्रदेश हुँदै प्रदेश १ को संसद्मा सल्किएको संघीय संसद् विघटनको राप यता पनि छिट्टै सल्कियो । शेरधनले यति चाँडै मुख्य मन्त्रालयको ऐसआरामबाट मुक्ति पाउनुपर्ने सायद सोचेकै थिएनन् किनकि आफूभन्दा सिनियर नेता भीम आचार्यलाई २ मतले पछारेर आउँदा उनको रवाफ कमको थिएन । हाल राजीनामा दिएर सरकार गिराउन महत्वपूर्ण योगदान गर्ने सामाजिक विकासमन्त्री जीवन घिमिरे जतिबेला राजनीति गर्थे, त्यतिबेला शेरधन भर्खर पढ्दै थिए । त्यति मात्र होइन, उनी कहिले पनि ओलीको लाइनका भएनन्, तैपनि सरकारमा बसिरहे ।
उनको सहयोग शेरधनले लिए र मुख्यमन्त्री भए तर घिमिरेले त्यो समर्थन फिर्ता लिएसँगै शेरधनको सरकार गिर्ने पक्का छ । तैपनि, शेरधन भन्दैछन्, म सामना गर्छु । त्यो उनको आत्मविश्वास हो तर राजनीतिमा आत्मविश्वासभन्दा पनि आधार चाहिन्छ । संख्यात्मक रूपमा हेर्ने हो भने उनीसँग २ सांसद मात्र छन् । त्यसका लागि ६ जनाको साथ चाहिन्छ । उनी जोडतोडले त्यो खोजिरहेका छन् । प्रदेश १ सभामा रहेका ३ सदस्यमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना सांसद छन् । नेकपाका ६७ मध्ये दाहाल–नेपाल पक्षमा ४४ जना छन् । एक जना नेताले भने, कांग्रेसले तपाईं २६ सांसद लिएर आउनुस् अनि मात्र साथ दिन्छौं भनेको छ । त्यो पुग्ने स्थिति छैन ।
पूर्वतिरका नेता शेरधनलाई निकै सोखिनका रूपमा चिन्छन् । सुकिलो मुकिलो लुगामा सधँै चटक्क परेर देखाउनुपर्ने उनले गरेको राम्रो कामको खोजी गर्न भने धेरै समय खर्चिनुपर्छ । बरु जसोतसो पीएस गुरुङ, त्रिलोचन भट्ट, डोरमणि पौडेल र शंकर पोखरेलले आफ्नो प्रदेशको नाम त राखे उनले त त्यो पनि गर्न सकेनन् । राईको छोरो न परेन जातीयतालाई स्विकार्न सके न भौगोलिकतालाई ।
पहिलो संविधानसभामा पराजित भएपछि ओलीले निकटहरूको एउटा भेलामा भनेका थिए, अब म राजनीति गर्दिनँ । छोड्छु । म जत्तिको मान्छेले त चुनाव हारें भने भोलि तपाईंहरूको के गति होला ?
एकजना उनका निकटवर्ती नेता भन्छन्, ओली त्यो बेला निकै निरास हुनुहुन्थ्यो । यस्तो अवस्थाबाट गुज्रिएका ओलीले दोस्रो संविधानसभा जिते तर अर्को आमचुनावमा उनलाई त्यही क्षेत्र फलामको च्युरा भैदियो । त्यही भएर उनले कतै नजितेको राप्रपाको सहारा लिए र जिते । ओलीका एक जना मित्र भन्छन्, फेरि त्यो सम्भावना छैन । अब जित्न गाह्रो छ ।
झापा भनेको झापा नै हो । हरेक कुरामा अगाडि हुन्छ । नेकपा फुटेपछि धेरैको भाग्य चम्कियो । झापाली हुनुको नाताले काम गर्छ । झण्डै २ मत बढीले त्यो पार्टीको केन्द्रीय सदस्य हुने मौका पाए । मेयरदेखि प्रदेश सांसदसम्म, वडा सदस्यको टिकट पनि पाउने योग्यता नपुगेका मान्छेदेखि जिल्ला अध्यक्षसम्मले केन्द्रीय सदस्य हुने अवसर पाए । यतिसम्म कि नेता पत्नीहरूले पनि यो मौका चुकाएनन् । टीका घिमिरे नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेकी श्रीमती हुन् भने अम्बिका खनाल दमकमा मेयर नदिएपछि रुष्ट बनेर बसेका नेता हुन् । ओलीले भाइ रोमनाथ ओलीलाई नै फेरि मेयर बनाएपछि खनालले बागी उम्मेदवारी दिएका थिए । त्यति मात्र होइन, उहिल्यैदेखि माधव नेपालको पक्षमा लागेका र झापामा ओली पक्षको बुहार्तन भोगेका हालका प्रदेश सांसद गोपाल बुढाथोकी र जसमाया गजमेरलाई केन्द्रीय सदस्यको ललीपप देखाइयो । तर, उनीहरू त्यसमा लागेनन् । बरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न पुगे । बरु उनीहरूलाई केन्द्रीय सदस्य बनाएर सरकार टिकाउन मद्दत गरे । मन्त्री पाउने आश्वासन पाएका झापा २ का प्रदेश सांसद एकराज कार्कीको सपना भने अब तुहिने भएको छ ।
टिप्पणीहरू