प्रधानमन्त्रीका फरक फरक बोली

प्रधानमन्त्रीका फरक फरक बोली

प्रधानमन्त्री केपी शर्मा ओली वाक पटुता र अभिव्यक्ति कला अत्यधिक भएको सिपालु नेतामध्येमा पर्नुहुन्छ । खासगरी आफ्ना बिरोधीलाई तह लगाउन उहाँ कलात्मक र व्यङ्ग्यात्मक शैली अपनाउनुहुन्छ ।

आफूलाई ‘बा’ भन्नेहरुलाई खुशी बनाउन झन् रोचक र घोचक ढङ्गले कुरा गर्नुहुन्छ । उखान टुक्का मिसाएर बोल्नु त विशेषता नै भैहाल्यो । तथापि वाक कलामा जतिसुकै निपुण भएपनि आफ्नै बोलीका कारण बेला बेलामा उहाँ चिप्लिनुभएको पनि प्रशस्तै उदाहरण भेटिन्छन् ।

दुई दिन पहिले निर्वाचन आयोगको सन्दर्भमा सार्वजनिक रुपमा बोल्नुभएको कुरा पछि झूठो प्रमाणित भएको छ । आफ्ना कार्यकर्तालाई हौस्याउन त्यत्तिकै बोलिदिएका कुरा अन्ततः गलत साबित भएको हो । अन्ततः निर्वाचन आयोगले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको खण्डन नै गर्नुपर्यो भने दुबै खेमालाई आज पत्र काटिएको छ  । प्रधानमन्त्रीले भन्नु भए झैं एक पक्षको निवेदन अस्ति नै बदर या फिर्ता गरिएको भए आज किन थप पत्र लेखिन्थ्यो होला र !

प्रधानमन्त्रीलाई किन यस्ता स–साना कुरामा पनि प्वाक्क प्वाक्क बोलिराख्नुपरेको होला ? भनेर राखिएको जिज्ञासामा एकजना मनोचिकित्सक भन्छन् ‘ओलीको गलत बोलीको फेहरिस्त खोज्न धेरै टाढा पुगिरहनु पर्दैन । दुई महिना यताका घटना नै काफी हुन्छन् । केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा कार्यक्रममा सार्वजनिक रुपमै ओलीले झूठो बोलेर हैरान पारेको’ बताउनुभएको थियो ।

त्यसबखत प्रचण्डले एउटा सन्दर्भ कोट्टयाउँदै भन्नुभएको थियो ‘आज प्रधानमन्त्रीले संसद विघटन गर्दै हुनुहुन्छ भन्ने कुराको सूचना बिहानै पाएको थिएँ । त्यसपछि मैले फोन गरेर ११ बजे तपाईंलाई भेट्न आउँछु, यतिबेलासम्म कुनै निर्णय नलिनुहोला भनेँ । हुन्छ भनेर फोन राख्नुभएका प्रधानमन्त्रीले १० बजे नै मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटनको सिफारिश गरिदिनुभयो ।’  उहाँको भनाई थियो ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका व्यक्तिले भनेको र गरेको उक्त कार्य नै सबैभन्दा ठूलो झूठ होइन र ?’

जनतालाई पानीजहाज, चुच्चे रेल, घर घरका चुलामा ग्याँसका पाइप, सम्वृद्धि, सुशासन दिन्छु भनेर उहाँले बोलेको र व्यवहारमा भएको प्रगति सबैले देखेकै, बुझेकै, भोगेकै कुरा हो । त्योबाहेक उहाँ आफ्नै पार्टीका नेताहरुसँग समेत कति झूठो बोल्नुहुन्छ भन्ने अर्को एउटा उदाहरण पनि छ ।

एकपटक नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा हुँदै थियो । अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु उहाँलाई भेट्न जाने तयारी गर्दै हुनुहुन्थ्यो । तर,ओलीले समय दिनुभएन बरु उल्टै कसैले सुइँको नपाउने गरी अध्यादेश जारी गरिदिनुभयो । त्यसपछि ओलीमाथि निवासको तल्लो तलामा बसेको बैठकलाई धोका दिएको र नेताहरुसँग झूठो बोलेको आरोप लाग्यो ।

पछिल्लो एक वर्षदेखि दिनैपिच्छे र नेतैपिच्छे प्रधानमन्त्री एवम् अध्यक्ष पद बाँड्ने उहाँको दैनिकी जस्तै बनेको थियो । उहाँले धेरै पटक बिहान वामदेव गौतमलाई,दिउँसो माधव नेपाललाई र साँझ प्रचण्डलाई प्रधानमन्त्री पद प्रस्ताव गरेको समाचार सार्वजनिक हुन्थे । नेताहरु पनि पत्याएरै होला मख्ख पर्दै बालुवाटार धाउँथे । अन्तमा ‘हिस्स बूढी हरिया दाँत’ को शैलीमा ‘च्याप्टर क्लोज्ड’ हुने गरेको थियो ।

त्यसपछि गौतमको सबैभन्दा ठूलो गुनासो देखियो ‘ओली सहमति गर्छन्, तर कार्यान्वयन गर्दैनन् । त्यो व्यवहारबाट गौतम मात्रै होइन, सबैभन्दा धेरै माधवकुमार नेपाल पीडित बन्नुभएको देखिन्थ्यो । ‘भेटमा एउटा कुरा गर्ने, निस्केर बाहिर आउन भ्याएको हुँदैन अर्कै निर्णय आइसक्छ,त्यस्ता मान्छेसँग सकिन्छ ?’ भनेर उहाँले सार्वजनिक रुपमा व्यक्त गर्नुभएको धारणाले पनि नेपाल कति पीडित हुनुभएको थियो भन्ने अर्थ लगाउन सकिन्छ ।

अहिले नेकपा फुट्नुको पछाडि प्रधानमन्त्री ओलीको त्यस्ता व्यवहारहरु नै निर्णायक रहेको धेरैको आरोप छ । ओली पक्षकै कतिपय नेताहरुले पनि नेकपा फुट्नुमा भदौ २५ गतेको स्थायी समितिको निर्णय प्रधानमन्त्रीले अस्वीकार गर्नुलाई धेरथोर स्वीकार गरेको देखिन्छ ।

त्यसैगरी पछिल्लो अध्यादेशको किस्सा झन् गजबको छ । ओलीले अध्यादेश फिर्ता गर्लान् र पार्टीको विवाद हल होला भनेर दोस्रो तहका नेता न्वारनको बल निकालेर कस्सिएका थिए । तर ती सबै त्यतिबेला जिल्लिए जतिबेला ओलीले आफ्नै अध्यक्षतामा बसेको स्थायी समितिको निर्णयलाई लत्याउँदै अध्यादेश फिर्ता लिनुभएन,बरु पर्सिपल्ट संसद नै विघटन गरिदिनुभयो ।

टिप्पणीहरू