विप्लवका गतिबिधि बढ्यो

विप्लवका गतिबिधि बढ्यो

अहिलेको राजनीतिक घटनाक्रमलाई देखाउँदै नेकपा विप्लवले आफूहरूले भन्ने गरेको संसदीय व्यवस्था बेठीक भन्ने मान्यतालाई जनतामाझ पुष्टि गर्ने अभियान चलाएको छ । संसद विघटन र त्यसपछि उत्पन्न असहज राजनीतिक परिस्थितिलाई परिभाषित गर्दै जनतालाई आफूतर्फ आकर्षित गर्न विप्लवहरू कम्मर कसेर लागेको सुरक्षा स्रोतको दाबी छ ।

उनीहरूको पछिल्लो प्रभाव सबैभन्दा धेरै कालिकोटमा देखिएको छ । त्यसपछि जाजरकोट र रोल्पामा पनि विप्लवप्रतिको समर्थन र सहानुभूति ह्वात्तै बढेको छ । उनीहरूले लामो समयदेखि रोल्पालाई आफ्नो प्रतिष्ठासँग जोड्दै आएका थिए । त्यहि प्रतिष्ठा कायम गर्न गरिएको अथक मेहनतमा अहिलेको संसद विघटनको घटनाले बल पुगेको उनीहरूको ठहर छ ।

आगामी फागुन ३ गते सैनिक परेड नै गर्ने गरी सबै व्यवस्थापन मिलाइरहेको सुरक्षा स्रोतले जानकारी प्राप्त गरेको छ । त्यहि मेसोमा जनसरकार गठन गर्ने र जनसेनाको पोशाकमा केहीलाई परिचालन गर्ने तयारीस्वरूप चन्दा उठाउने कामलाई प्राथमिकता दिइएको बताइन्छ ।

अहिलेसम्म जिल्लाहरूका सबैजसो कार्यक्रम स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा नै हुने गरेको छ । हालैमात्र विप्लवसँग संसद बाहिर रहेका अन्य तीनवटा राजनीतिक दलले कार्यगत एकता गरेको विषयमा सरकारले गर्ने मूल्याङ्कन आफूहरूले व्यग्रताका साथ कुरिरहेको सुरक्षा स्रोत बताउँछ ।

टिप्पणीहरू