घाम ताप्दै बित्छ उहाँको दिन
राष्ट्रिय राजनीतिमा देखिएको उतारचढावसँगै राष्ट्रपति भवन शीतल निवासमा भित्रिने र बाहिरिने पाहुनाको लर्को घटेको छैन, बरु दिनहुँ बढ्दो छ ।
तर, त्यहाँबाट मुश्किलले डेढ किलोमिटर दक्षिणस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय र निवास भने लामो समयदेखि चकमन्न देखिन्छ । एकातिर लामो समयको लकडाउन, अर्कातिर कोरोनाको बिगबिगीले पनि उपराष्ट्रपति कार्यालयमा बढी नै सजगता अपनाइएको स्रोतको दाबी छ ।
उपराष्ट्रपति आफैँ पनि सामान्य विसञ्चो भएकाले शुक्रबार साँझ राष्ट्रपति भवनमा आयोजित नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुनुभएन । अधिकांश भेटघाट बन्द गरिएकाले हिउँदमा घाम ताप्ने र सञ्चार माध्यममा आँखा डुलाउँदै दिन बित्ने गरेको पारिवारिक स्रोतले जनाएको छ ।
विशेष स्वास्थ्य सजगता अपनाएकाले पाहुनासँग भेटघाट रोकिएको र आफू पनि बाहिर नगएकाले उपराष्ट्रपति लामो समयदेखि फुर्सदिलो बन्नुभएको हो । उहाँकहाँ सरकारबाट कुनै फाइल जानकारी या सदरको लागि पुग्ने चलन पनि छैन ।
टिप्पणीहरू