हाइवेमा बाघ मारिँदा सीईओ हिरासतमा

हाइवेमा बाघ मारिँदा सीईओ हिरासतमा

गत शुक्रबार दिउँसो बाराको पथलैयास्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी सडकमै बाघ मरेपछि युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय मिश्र प्रहरीको फन्दामा परेका छन् । कार्यालयको कामको सिलसिलामा व्यस्त राजमार्गमा गुडिरहेको मिश्रको सवारी साधनसँग ठोक्किएपछि अकस्मात जम्काभेट भएको बाघ सडकमै ढलेको बताइन्छ ।

बाघ संरक्षित वन्यजन्तुको सूचीमा रहेको र राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र मारिएको कारण सवारी चालकलाई चार दिनदेखि हिरासतमा राखिएको प्रहरीको दाबी छ । तर,मिश्रले भने आफूले सामान्य गतिमा सवारी साधन चलाइरहेको बेला एक्कासी बाघ आएर ठोक्किएकोले आफ्नो कुनै दोष र खराब नियत नरहेको बताउँछन् ।

बाघ संरक्षित वन्यजन्तु भएको र त्यसको संरक्षणप्रति आफू पूर्ण सजग हुँदाहुँदै पनि राजमार्गको मध्य भागमा भवितब्यबश भएको घटनालाई मानवीय र प्राविधिक दृष्टिकोणले हेरिनुपर्ने उनी बताउँछन् । ‘आपराधिक कार्य र भवितव्यलाई छुट्टाछुट्टै दृष्टिकोणले हेर्नुपर्ने’ उनको तर्क छ । वन्यजन्तु संरक्षणविद्हरू पनि बाघ मारिएकोमा मार्ने व्यक्तिको उद्देश्य,घटनास्थल, घटनाको प्रकृतिलाई हेर्नुपर्ने बताउँछन् ।

त्यहि दिन उता बर्दिया राष्ट्रिय निकुञ्जमा पनि कोहलपुरबाट उपचार गरी मोटरसाइकलमा घर फर्कंदै गरेकी कैलाली लम्कीचुहा,कौवापुरकी एक महिलालाई बाघले आक्रमण गरेपछि घिसार्दै जंगलभित्र लगेर खाएको थियो । चालक छोरा भने बाघको आक्रमणबाट मोटरसाइकल अनियन्त्रित भई उत्पन्न दुर्घटनामा गम्भीर घाइते भएका छन् । एकैदिन पूर्व पश्चिम राजमार्गको बर्दिया र बारा राष्ट्रिय निकुञ्जमा भएको दुईवटा घटनामा एकातिर बाघले सवारी साधनमा झम्टेर मान्छे मार्यो भने अर्कोतिर सवारी साधनमा बाघ ठोक्किएर मरेको देखिन्छ । यो अवस्थालाई पनि नियम,कानुन र व्यवहारसँग दाँज्नुपर्ने संरक्षणविद्हरू बताउँछन् ।

टिप्पणीहरू