उखुको स्वाद

उखुको स्वाद

उखुको स्वाद कस्तो हुन्छ त्यो शायद भनिरहनु पर्दैन । गुलियो हुन्छ । संसारलाई थाहा छ । तर उखु उत्पादन गर्ने किसानका लागि भने उखुको स्वाद तीतो हुने रहेछ । नपत्याए अहिले काठमाडौंमा आन्दोलन गरिरहेका उखु किसानहरूलाई सोध्नोस् । आजसम्म उखु उत्पादन गर्ने एउटा पनि त्यस्तो किसान भेटिएको छैन जसका लागि उखुको स्वाद गुलियो रहेको होस् ।

यो उखु पनि एउटा अद्भूत वनस्पति रहेछ । जसले यो रोप्छ, उमार्छ उसलाई तीतो हुन्छ । जसले किनेर चिनी बनाउँछ उसलाई गुलियो हुन्छ । वस्तु एउटै हो तर स्वाद फरक । यस्तो पनि कहीं हुन्छ ?

आफ्ना लागि उखुको स्वाद तीतो भएकोमा किसानहरू खुशी छैनन् । त्यसैले आफ्ना लागि उखुको स्वाद गुलियै हुनुपर्ने माग राख्दै काठमाडौं आएका छन् । तर काठमाडौं आए पनि हालत भने बिजोग छ । उनीहरूको माग कसैले सुनिरहेको छैन । न प्रधानमन्त्रीले सुनेको छ, न मन्त्रीहरूले सुनेको छ । नसुन्नुको एउटा कारण पनि छ । त्यो के भने वर्तमान मन्त्रिमण्डलमा प्रधानमन्त्री लगायत अधिकांश मन्त्रीहरू मिर्गौलाका विरामी छन् । उनीहरूको मिर्गौला बिग्रनुको प्रमुख कारण चिनीको सेवन हो । त्यो चिनी भनेको उखुबाट बन्छ । त्यो उखु उत्पादन गर्ने किसान यिनीहरू नै हुन् । अब जुन किसानका कारण आफ्नो किड्नी खराब भयो ती किसानका कुरा मन्त्रीहरूले किन सुन्ने ?

टिप्पणीहरू