खनाल थर जोडिनु नै दुर्भाग्य
मिनी नेपाल बारको चुनावका रुपमा हेरिएको सर्वोच्च अदालत बारको चुनाव पुस ४ गते सम्पन्न भयो । प्रतिस्पर्धामा बढी भोट ल्याउने उम्मेदवारले नै जित्ने हो तर मैदानमा प्रगतिशील लयर्श एशोसिएसन (पिएलए) को तर्फबाट अध्यक्ष उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई थरकै कारण बिब्ल्याँटो परेको चर्चा यतिबेला बारभित्र र बाहिर छ ।
नेकपा फुटको संघारमा रहेका बेला सम्पन्न निर्वाचनमा खनाल पूर्णमान शाक्यसँग २३ मतको अन्तरमा पराजित भए । ४५ मतमा खनालले २३ तान्न सकेको भए निर्वाचित हुने अवस्था थियो । तर, सीधासादा, सरल र सबैका ‘माई डियर’ हुँदाहुँदै पनि खनाल पराजित भए । कोरोना कहरबीच पनि भोट माग्नलाई वरिष्ठहरूको टिम बनाएर घरदैलो अभियान चलाइएको थियो । बरु शाक्य कनिष्ठहरूको नमस्कार नफर्काउने ‘दम्भी’ उम्मेदवारका रूपमा प्रचारित थिए । डिएलएभित्र हरिहर दाहाल र यदुनाथ खनालहरूलाई अनुशासनको कारबाही गरी निश्कासन गरिएको अवस्थामा सतप्रतिशत रविनारायणले नै जित्छन् भन्ने आन्तरिक जोडघटाउ पिएलए मात्र होइन, डिएलएभित्र पनि थियो ।
धेरै मतदाता र सबै राम्रो हुँदाहुँदै पनि पिएलएले हारको ठोस कारण भने अहिलेसम्म फेला पार्न सकेको छैन । पार्टीको हानथाप र कचिंगलबीच नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग थर जोडिएर पनि रविनारायणलाई केही तलमाथि भयो भन्ने आशंका पिएलका वरिष्ठहरूको छ ।
नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै समूहमा रहेका कारण प्रधानमन्त्री केपी ओली पक्षका कतिपय कानुन व्यवसायी भ्रममा परेर मत तितरवितर भयो भन्ने चर्चा बारभित्र छ । ‘अरु केही होइन, झलनाथको मान्छे भनेर झुक्किँदाको परिणाम हो यो,’ पिएलएका एक पदाधिकारी भन्छन्, ‘हामीले पनि उहाँ (खनाल) कुनै गुटसुटको मान्छे होइन भनेर राम्ररी बुझाउन सकेनौं कि भन्ने लागेको छ । जे होस् यो वर्षका लागि खेल सकियो ।’
प्रगतिशील समूहका तर्फबाट उपाध्यक्षमा अधिवक्ता मुकुन्दप्रसाद पौडेलसहित तीन जना सदस्य विजयी भएका छन् । डिएलएतर्फ भने अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्यसहित सचिव, कोषाध्यक्ष र पाँच जना सदस्य विजयी भए । सचिवमा प्रगतिशील समूहकी अञ्जिता खनाल डिएलएका ऋषिराम घिमिरेसँग भारी मत (९२ मत) ले पराजित भइन् । उनी नेकपामा प्रचण्डनिकट मानिन्थिन् ।
टिप्पणीहरू