यो विभाजन होइन नि !
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी अबचाहिँ विभाजन होला कि भन्ने आशंका पुरै हटेको छ । अस्ति ह्वात्तै घटिसकेको थियो । अहिले फेरि विस्तारै बढ्न थालेको छ । नेकपा विभाजनको सम्भावना र नेपालको शेयर बजार अहिले उस्तै उस्तै हुन गएको छ । एकैछिनमा बढ्छ, एकैछिनमा घट्छ । कहिले के हुन्छ भन्नै सकिन्न ।
पार्टी विभाजनको यति नजिक पुगेर झुलिरहेको छ, तर मेरा छिमेकी कमरेड भने आरामले घरमै बसिरहेको देखेर म छक्क परें । मनको खुलदुली मेटाउन हिजो कौशीमा घाम तापिरहेका उनलाई सोधिहालें, ‘के हो कमरेड, तपाइँ त बडो आरामपूर्वक घरमै घाम तापेर बसिरहनुभएको छ । पार्टी विभाजन रोक्न जानु पर्दैन ?’
कमरेड फिसिक्क हाँसे । भने, ‘चिन्ता नलिनोस्, यो पार्टी विभाजन हुँदैन । विभाजन होला भनी चिन्ता नलिए पनि हुन्छ ।’
कमरेडको कन्फिडेन्स अनौठो लाग्यो । सोधें, ‘किन विभाजन हुँदैन कमरेड ? यत्रो बबाल मच्चिरहेको छ, दुई फ्याक त भइ नै सक्यो, तपाइँ कसरी ढुक्क हुन सक्नुहुन्छ ?’
‘त्यसको त धेरै आधार छ,’ उनले स्पष्ट गर्न खोजे, ‘हेर्नोस्, पार्टी विभाजन हुनलाई सबैभन्दा पहिले पार्टी एकीकरण त हुनुप¥यो नि, परेन ? यो पार्टी आजसम्म एकीकरणै भएको छैन । जुन पार्टी आजसम्म एकीकरणै भएको छैन त्यो पार्टी विभाजन कसरी हुन्छ ?’
हाँ ?! कमरेडको प्रतिप्रश्नले म झस्किएँ ।
‘बुझ्नुभयो हैन ?,’ उनको प्रश्न जारी नै थियो, ‘आजसम्म एकीकरणै नभएको पार्टी विभाजन कसरी हुन सक्छ ? अनि त्यो हुनै नसक्ने विभाजन होला भनेर किन चिन्ता लिने ? होइन र ?’
टिप्पणीहरू