केपीको आँखा सिपीतिर !

केपीको आँखा सिपीतिर !

लामो विवादपछि सत्तारुढ नेकपा विभाजित भयो । विभाजन पूर्व पनि त्यहाँ प्रष्ट दुई समूह थियो । प्रचण्ड—नेपाल समूह पार्टीका सबै कमिटीमा बहुमतमा रहे पनि पार्टीमा हालीमुहाली चाहिँ प्रधानमन्त्री केपी ओलीकै चल्थ्यो ।

विवाद मिलाउने नाममा हुने गरेका विभिन्न पक्षीय बैठकमा केपी ओली नेतैपिच्छे पदको अफर गर्नुहुन्थ्यो । बिहान वामदेवलाई महाधिवेशनपछिको पार्टी अध्यक्ष र निर्वाचनपछिको प्रधानमन्त्री । वामदेवको पाइलो बालुवाटारको दैलो कट्न भ्याएको हुँदैन माधव नेपाललाई बोलाएर त्यहि प्रस्ताव । साँझ प्रचण्डलाई बोलाएर अब हाम्रो पार्टीमा अरु को छ र तपाईं नै त हो नि भनेर मख्ख पारिन्थ्यो । शुरुशुरुमा मुख मिठ्याएर बालुवाटारबाट फर्किने नेताहरुले ओलीको यो शैली बुझेपछि वास्ता गर्न छाडे ।

अन्ततःओलीले संसद भंग गरेपछि पार्टी फुट्यो । पार्टी फुटेपछि पनिे पदको लोभ देखाएर नेताहरुलाई इन्गेज गर्ने ओलीको बानी सुध्रिएको छैन । पार्टीमा विवाद उत्कर्षमा पुगेका बेलासमेत तटस्थ देखिएका गृहमन्त्री रामबहादुर थापाले विभाजनको दुई दिनसम्म हलचल गरेनन् । प्रचण्ड—नेपाल पक्षले आफूतिर आउन गरेको आग्रह अस्वीकार गरेर पार्टी एकताका पक्षमा भूमिका खेल्ने बताएका उनी दुई दिन नबित्तै बालुवाटार पुगे । ओली पक्षमा खुलेर लागे । अनि ओलीको बचाउ गर्दै संसद विघटनको निर्णयलाई क्रान्तिकारी कदम भने ।

थापा ओली पक्षमा खुल्नु र ओलीको बचाउ गर्नुमा उनलाई ओलीले सहअध्यक्ष प्रस्ताव गरेको चर्चा छ । दिन नपर्ने प्रस्ताव गर्न ओलीलाई के को डर,सायद गरेकै हुनुपर्छ । ओलीले थापालाई मात्र हैन माले महासचिव सिपी मैनालीलाई पनि त्यस्तै अफर गरेको चर्चा अहिले मालेवृत्तमा छ ।

ओलीको अफरमा लट्ठिएर जसरी गृहमन्त्री थापाले जननिर्वाचित संस्था विघटन गर्ने निर्णयलाई क्रान्तिकारी भने मैनालीले पनि ओलीको कदमको घुमाउरो समर्थन गरेका छन् ।

एउटा सार्वजनिक कार्यक्रममा मैनालीले संसद विघटन गर्ने ओलीको कदम गलत भए पनि निर्वाचनमा जानुको विकल्प नभएको बताएर घुमाउरो समर्थन गरेका हुन् । मैनालीले संविधान निर्माण गर्दा प्रधानमन्त्रीलाई अधिकार संकुचित गरिनु गलत भएको समेत भने ।

०२७-२८ को झापा आन्दोलनदेखि ०३९ सालसम्मै पार्टी महासचिव रहेका मैनाली ओलीभन्दा सिनियर नेता हुन् । तर ओलीले आफ्नो अघिल्लो सरकारमा मैनालीलाई महिला,बालबालिका हेर्ने उपप्रधानमन्त्री बनाएर आफूभन्दा तल राखेका थिए । त्यतिबेला आफूभन्दा सिनियर नेतालाई आफ्नो मन्त्रिपरिषद्को सदस्य बनाएर ओलीले नमस्ते गर्न बाध्य पारेको चर्चा मालेभित्र हुन्थ्यो । पार्टीमा निरन्तर कम्जोर बन्दै गएका मैनालीले ओलीको सह—अध्यक्षको उधारो अफर स्वीकार गरे अचम्म मान्न नहुने मालेपंक्तिकै एक जनाले बताए ।

त्यसैले अहिले राजनीतिक वृत्तमा एउटा चर्चा छ,‘ओलीले वामदेवलाई भकुण्डो बनाएको भन्थे,अब रामबहादुर थापा र सिपी मैनाली पनि हुने भए ।’

टिप्पणीहरू